काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल मास्क लगाएर मालपोत कार्यालय चाबहिलको निरक्षणमा पुगेकी छन्। मन्त्रालयका कर्मचारी सहितको टोलीको नेतृत्व गर्दै मन्त्री अनौपचारिक पोसाकमा कार्यालय प्रवेश गरेकी थिइन्।
अर्यालले मालपोत कार्यलयको व्यवस्थापन र काम गर्ने शैली निरीक्षण गर्न बिहान १०ः३० बजे कार्यालय प्रवेश गरिन्। अर्याललाई सर्वसाधारण र सुरुमा कर्मचारीले चिन्न सकेका थिएनन्। छड्के जाँचका क्रममा पुगेकी अर्यालले दैनिक सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी लिएकी थिइन्।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी समेत लिएकी थिइन्।
त्यस क्रममा कार्यालयमा मन्त्री अर्याल अनुगमनमा आएको खबर पाएपछि लेखापढी व्यवसायीहरुले कार्यालयमा व्यवसाय गर्न असहज भएको, व्यस्थापन राम्रो नभएको, भवन सेवामैत्री नभएको भन्दै अनेक गुनासा राखेका थिए। विशेषगरी मन्त्री अर्यालले पछिल्लो समय प्रयोगमा ल्याएको सेवाग्राही आफैले भर्न सक्ने फारामका कारण आफ्नो व्यवसाय समस्यामा परेकोप्रति उनीहरुको गुुनासो लक्षित थियो।
अनुगमनका क्रममा कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या उत्पन्न भएको बताएका थिए। कर्मचारीहरुले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ति एकचोटि लिएको तालिम पर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको बताएका थिए।
व्यवहारमा देखिएका समस्याका कुरा स्कुलिङबाट सुधार गर्ने र सेवासँग जोडिएका संरचनागत कुरालाई संरचना सुधारका अभियान सञ्चालन गरिने मन्त्री अर्यालले बताइन्। अनुगमन क्रममा कामको प्रकृतिअनुसार कार्यालय उपयुक्त नभएकाले कार्यालय अर्को ठाउँमा सार्ने विकल्प खोज्न मन्त्री अर्यालले कार्यालय प्रमुखलाई निर्देशन दिइन।
‘अनलाइन सुरु गरेपछि सर्भरका कारणले सेवामा समस्या आयो सेवा दिन सकिएन भन्ने कुरा आएको छ। थप तालिमको आवश्यकता रहेको देखियो’, मन्त्री अर्यालले भनिन्, ‘सर्भरसँग जोडिएर आउने समस्याको समाधानका निम्ति मन्त्रालयले थप तालिम दिने आवश्यकता देखियो।’
भविष्यमा मन्त्रालय अन्तर्गतका सम्पूर्ण सेवा पेपरलेस हुनुपर्छ भन्ने उद्देश्यका साथ मन्त्रालयले कार्य अगाडि बढाएको मन्त्री अर्यालले बताइन्।
मालपोल कार्यालय चाबहिलका कार्यालय प्रमुख पदमप्रसाद अर्यालले अहिले भाडामा रहेको कार्यालयको संरचना सेवामैत्री नहुँदा सेवाप्रवाहमा समस्या भएको बताएका थिए। उनले नयाँ बन्दै गरेको कार्यालयको भवन निर्माण सम्पन्न हुन नसकेको गुनासो गरे।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए। उनले समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गरिनेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।