–अच्युत रेग्मी/रासस
काठमाडौं- आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइवर अपराध बढेर गएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो।
महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइवर अपराधसम्बन्धी ९ सय २६ उजुरी दर्ता भएका छन्। महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा चिठ्ठा पर्यो भनेर एक करोड रुपैयाँसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउँछन्। 'विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेरसमेत ठगी भएको छ', उनले भने।
महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइवर अपराधमा लागेका छन्। जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै छन्। महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइवर अपराध बढेको तर्क गर्छन्।
'सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइवर अपराध बढी हुने गरेको छ', उनकाे भनाइ छ। साइवर कानुनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ।
साइवर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ। महाशाखाले साइवर अपराधमा ९ सय २६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मात्रै मुद्दा चलाएको छ। जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्काकाे नाममा रहेको फेसबुक, ट्विटर ह्याकिङ गर्ने ६, जथाभावी एसएमएस गर्ने ९, युट्युवमा अनावश्यक पोष्ट गर्ने ३ र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ हजार १ सय ९७ उजुरी दर्ता भएकामा २६ विरुद्ध मुद्दा चलेको थियाे भने आव २०७४/७५ मा १ हजार ४ सय ८२ उजुरी दर्ता भएकामा ६८ विरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रवक्ता उप्रेती साइवर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अफ्ठ्यारो हुने गरेको बताउँछन्। अहिले साइवर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाही गर्दै आएको छ।
विद्युतीय कारोबार ऐनअन्तर्गत साइवर अपराध गर्नेलाई ५ वर्षसम्म जेल वा एक लाख रुपैयाँ वा दुबै सजाय हुने प्रावधान रहेको छ। साइवर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।
नेपाल प्रहरीले पछिल्लो समय साइवर अपराधका घटनामा वृद्धि भएपछि साइवर ब्युरोसमेत स्थापना गरेको छ। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गरेकाे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्युरो स्थापना गरेको हो।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्व रहने गरी ७० दरबन्दी भएको ब्युरो स्थापना गरिएको जानकारी दिए।'हाल प्रहरी प्रधान कार्यालयबाट सञ्चालन हुँदै आएको ब्युरोले छिट्टै प्रहरी प्रधान कार्यालय बाहिर रहेर जनताको सेवा गर्नेछ', प्रवक्ता सुवेदीले भने।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइवर अपराधमा समेत रोकथाम गर्ने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।