काठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने कार्यक्रम रोकिएको छ।
प्रधानमन्त्री ओली आगामी आइतबार धनगढी आउने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्रीले आइतबार नै सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।
त्यस्तै, सोही दिन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएकाे थियो। ओलीले न सोमबार कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको उद्घाटन गर्ने बताइएकाे थियाे।
गत साता नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा अध्यक्ष कर्णबहादुर थापाले आफू निकटका केही व्यक्तिलाई राखेर अगुवा कार्यकर्ता भेलाको तयारी समिति गठन गर्न खोजेपछि विवाद सिर्जना भएको हाे। नेकपा स्रोतका अनुसार विवाद बढ्दै गएपछि नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठक नै स्थगित भएको छ।
प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तयारीका लागि समिति गठनका विषयमा बैठकमा विवाद भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीको धनगढी आउने कार्यक्रम स्थगित गरेका हुन्। यससँगै धनगढीमा आयोजना गर्न लागिएको प्रदेश स्तरीय कार्यकर्ता भेलासमेत स्थगित भएको बताइएको छ।
बैठकमा सदस्यहरूले अध्यक्ष थापासँग 'प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टसँग बैठकका विषयमा किन छलफल नगरेको?' भन्दै आक्रोश पोखेका थिए। प्रदेश इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको जानकारी बिना नै बैठक बोलाइएकोमा केही सदस्यहरुले आपत्ति जनाएपछि बैठक नै स्थगित गरिएको बताइन्छ।
प्रधानमन्त्री नआउने बुझेपछि अध्यक्ष थापा काठमाडौं गएर प्रधानमन्त्री ओलीलाई सहमत गराउने प्रयास गरे पनि सफल नभएकोे स्रोतको भनाइ छ। नेकपा नेताहरु रावल, भट्ट, थापा र प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशीबीच छलफल भएर प्रधानमन्त्रीलाई धनगढी ल्याउने तय भएको थियो। इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको उपस्थितिमा प्रदेश कमिटीको पहिलो बैठकले पनि प्रधानमन्त्रीलाई धनगढी ल्याउने निर्णय गरेको थियो।
यता, प्रदेश अध्यक्ष थापाले बैठकमा विवाद भएर प्रधानमन्त्री ओलीको धनगढी भ्रमण स्थगित भएको भन्ने हल्ला मात्रै भएको बताएका छन्। 'यो दुई सय प्रतिशत झुटाे कुरा हो', अध्यक्ष थापाले शुक्रबार नेपाल लाइभसँग भने, 'केही प्राविधिक कारणले मात्रै प्रदेश स्तरीय कार्यकर्ता भेला स्थगित भएको हो र हाललाई प्रधानमन्त्रीको धनगढी भ्रमण पनि स्थगित भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।