कैलाली– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले अबको ४ वर्ष नेपालमा मुख्य सडक कालोपत्रे र पूर्वपश्चिम रेलमार्गको विस्तारमा विकास केन्द्रित हुने बताएका छन्।
सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री महासेठले प्रधानमन्त्रीकोे ‘संमृद्ध नेपाल र सुखी नेपाली’को सपना पूरा गर्न पूर्वाधार विकास, बाटो, रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।
उनले अबको ४ वर्षमा ६ देखि ८ हजार किलोमिटर कालोपत्रे सडक बनाउने लक्ष्य राखेको बताए। उनले मेचीको बाहुनडागीदेखि डडेलधुराको रुपालसम्म १२ सय किमि बाटो, १७ सय ९२ किमि हुलाकी राजमार्गका बाँकी काम ४ वर्षमा पूरा हुने बताए।
‘पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले तराईका सबै सदरमुकाम राजमार्गसँग चार लेन, छ लेनको सडक बनाउने उद्घोष गरेअनुसार अब केही पूरा हुन थालेका छन्,’ मन्त्री महासेठले भने, ‘जनकपुर–जयनगरमा नयाँ वर्षदेखि नेपाली रेल चल्छ।’
उनले पूर्वपश्चिम राजमार्ग सहरी क्षेत्रमा ६ र खालीमा ४ लेन बनाउने बुटवल पूर्वको काम सुरु भइसकेको र यसैवर्ष डिपीआर तयार गर्ने बताए। त्यसैगरी आउँदो वर्ष बुटवल पश्चिम पनि बन्ने र कांकडभिट्टादेखि गड्डाचौकीसम्म रेलमार्गको डिपीआर तयार भइसकाले अर्को वर्षदेखि ५ ठाउँबाट विद्युतीय रेलमार्ग बनाउन सुरु गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।