राजविराज– गुट्खाको विषयमा विवाद हुँदा सप्तरीको एक सरकारी कार्यालयका कर्मचारी बीच कुटाकुट भएको छ। कुटाकुटमा एक कर्मचारी घाइते भएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरी अन्तर्गत छिन्नमस्ता गाउँपालिकाको प्राविधिक कार्यालयका नायव पशु सेवा प्राविधिक सुरेन्द्र कुमार शर्मा र वडा नम्वर–३ को कार्यालयमा सोही पदमा करारमा कार्यरत घनेन्द्र यादवबीच कुटाकुट भएको हो।
कुटाकुटमा यादवले हानेको चिर्पटले लागेर सुरेन्द्र कुमार शर्माको टाउकोमा चोट लागेको छ।
स्थानीय निजी क्लिनिकमा प्राथमिक उपचार पश्चात उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ।
उनको टाउकोमा सात ओटा टाँका लागेको स्वास्थ्यकर्मीहरुले जानकारी दिए। गाई/वस्तु बाँध्ने डोरी पुर्याउन छिन्नमस्ता गाउँपालिकास्थित पशु शाखा कार्यालय कोचाबखारी पुगेका यादवको झोलामा गुट्खा देखेपछि शर्माले उनलाई हप्काएका थिए।
सोही विषयलाई लिएर उनीहरुबीच विवाद भएको थियो। विवाद वढ्दै जाँदा कुटाकुट भएपछि सखुवाको चिर्पटले लागेर शर्मा घाईते भएका थिए।
यादवले भने आफूलाई शर्माले फोनमा गालि गरेपछि बुझ्न जाँदा उल्टै हातपात गरेको र झडप हुँदा अन्जानमा चोट लागेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।