जनकपुर- जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेकाे छ।
प्रहरीले पकाहा मैनपुर गाँउपालिका–१ का २२ वर्षीय देवकुमार पटेललाई पक्राउ गरेको हो। पटेलले गत पुस १६ गते सोही गाउँपालिका– १ का ५ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए।
एक महिनापछि पटेललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अनन्त शर्माले बताए। बालिका बलात्कार गरे लगत्तै भारततर्फ प्रवेश गरेका कारण उनलाई पक्राउ गर्न एक महिना लागेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।
पटेललाई जिल्ला अदालत पर्साबाट म्याद थप गरी आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको शर्माको भनाइ छ। पटेलले बालिकालाई चकलेट दिने लोभ देखाएर घरमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए।
बलात्कारपछि गम्भीर घाइते बालिकालाई अस्पताल ल्याउन खोज्दा पटेल परिवारले घटनालाई लुकाउन दबाब दिएका थिए। बालिकाको स्वास्थ्य परिक्षण गर्दा करणीको रिपोर्ट आएको प्रहरीले जनाएको छ।
डा. प्रिती यादवले जबरजस्ती करणी भएको प्रमाणित गरिसकेपछि पनि दलका कतिपय स्थानीय नेताले मुद्धा दर्ता नगराउन दबाब दिएको पीडित पक्षले जनाएको छ।
पटेललाई छुटाउन पटेल परिवारले ठूलो आर्थिक चलखेल गरिरहेको पीडित परिवारको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।