काठमाडौं– डा गोविन्द केसीले अनसन तोड्ने निर्णय गरेका छन्। सरकारले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास गरेपछि पनि डा केसीले आफ्नो अनसन कायम राखेका थिए।
डा केसीका शुभेच्छुक र नागरिक समाजका अगुवाहरुले विधेयक पास भइसकेकाले तत्काल अनसन स्थगित गरी दबाबका अन्य उपाय अपनाउन सुझाएपछि उनले अनसन टुग्यांउने निर्णय लिएका हुन्।
उनलाई शुक्रबार पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की, प्रा डा भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविन्द्र सिंह बानियाँलगायतले भेटेरै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।
चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न उनीहरुले अनुरोध गरेका थिए।
उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।