काठमाडाैं- नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप-प्रबन्धक विजय कुमार चौधरीविरुद्ध २ कराेड १४ लाखकाे मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएकाे छ। अख्तयार दुरुपयाेग अनुसन्धान आयाेगले उप-प्रबन्धक चौधरीले गैरकानुनी रूपमा २ कराेड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ १४ पैसा सम्पत्ति आर्जन गरेको आराेपमा आज विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे।
'भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ 'ग' तथा दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र निजले भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ', आयाेगद्वारा आज जारी विज्ञप्तिमा भनिएकाे छ।
अख्तियारले चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा बदनियतसाथ राखेको देखिन आएकोसमेत ठहर गरेकाे छ। साे गैरकानुनी रुपमा आर्जन गरेकाे सम्पत्ति जफत गर्न समेत आराेप-पत्रमा माग गरिएकाे छ।
यस्ताे छ आयाेगले जारी गरेकाे विज्ञप्ति:
आरोप-पत्र दायर गरिएको
नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप-प्रबन्धक विजय कुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने समेत व्यहोराको उजुरी निवेदनका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानले विजय कुमार चौधरीले सार्वजनिक सेवामा रहँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज विजय कुमार चौधरीलाई बिगो रू.२,१४,५८,८३४।१४ (अक्षरूपी दुई करोड चौध लाख अन्ठाउन्न हजार आठ सय चौतीस रूपैया चौध पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ ग तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन र निजले भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको चल अचल सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
साथै निज विजय कुमार चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिहरु श्रीमती प्रियंका कुमारी चौधरी लगायतको नाममा बदनियतसाथ राखेको देखिन आएको हुँदा उक्त सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन माग दावी लिई सो चल अचल सम्पत्तिहरु जफत गर्ने प्रयोजनका लागि मात्र निज विजय कुमार चौधरीकी श्रीमती प्रियंका कुमारी चौधरीलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।
रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।