बुटवल– प्रदेश ५ को सभामा पेस भएको प्रसारणसम्बन्धी विधेयक सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगविना नै तयार गरिएकोले फिर्ता गरी पुनःलेखन गर्नुपर्ने माग गरिएको छ।
प्रदेश सरकारले प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गरिसकेको छ भने छापाखानासम्बन्धी विधेयक तयार गरिरहेको छ।
प्रदेश सभामा पेस भएको प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरी सरोकारवाला निकायसँग आवश्यक छलफल र परामर्श गरी लेखन गर्न सरोकारवालाले जोड दिएका हुन्।
रुपन्देहीमा बिहीबार आयोजित सञ्चार विधेयकसम्बन्धी छलफलमा बोल्ने सञ्चार क्षेत्रका अगुवाहरुले उक्त विधेयक पुनःलेखन गर्नुपर्ने सुझाव दिए।
प्रदेश सरकार मिडियामैत्री बनाउनका लागि पनि सञ्चार विधेयक मिडिया क्षेत्रको विज्ञहरुको सहयोगमा तयार गर्नु पर्ने उनीहरुको भनाइ थियो।
पूर्व सभासद एवं सञ्चारकर्मी विनोद पहाडी, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाईं, प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा छलफल गरी संसोधनका लागि गठित उपसमितिका संयोजक मोहन चापागाईं, छापाखाना र प्रकाशनसम्बन्धी विधेयकको छलफलका लागि गठित उपसमितिका संयोजक डीआर घिमिरे, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले विधेयक पुनःलेखनको माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।