जनकपुर- महोत्तरीको गौशालामा रहेको एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुरहरू सेवा सुविधा कटौती गरेको विरोधमा बिहीबारदेखि अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्।
अनसन बसेका मजदुरको आन्दोलनलाई प्रदेश सभा सदस्य भरतप्रसाद साहले ऐक्यवद्धता जनाएका छन्। सभासद साहले मजदुरको मागलाई यथाशीघ्र पूरा गर्न सम्बद्ध पक्षसँग माग गरे।
मजदुरले २०७५ असार महिनासम्म वर्षौंदेखिको विशेष भत्ता, अतिरिक्त भत्ता साथै अन्य सुविधाहरु पाए पनि सरकारले बढाएको २०७५ साउनदेखि तलब भत्तामा ३ हजार सय ५० रुपैयाँ मिल व्यवस्थापन पक्षले नदिएपछि उनीहरू चरणवद्ध आन्दोलनमा उत्रेका हुन्।
विगतमा भएका केही सम्झौता पनि कार्यान्वयनका लागि व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको आन्दोलनकारी मजदुरले बताए। कट्टा गरिएको भत्ता तथा सुविधाहरु पाउन मौखिक र लिखित जानकारी गराउँदा मिल व्यवस्थापन पक्षले चासो नदेखाएपछि आन्दोलन गर्नुपरेको अखिल नेपाल औद्योगिक मजदुर संघका कार्यवाहक अध्यक्ष नीरबहादुर अधिकारीले बताए।
मिल व्यवस्थापन पक्षलाई २०७५ भदौ १४ र १५, असोज ४ र कात्तिक ११ गते मजदुरका समस्याहरु बारे ज्ञापनपत्र दिए पनि सुनुवाइ नभएको मजदुरहरुको आरोप छ।
यता एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक विमलचन्द्र ठाकुरले चिनी उद्योगले मजदुरहरूको पुरानो सेवा सुविधामा नेपाल सरकारले बढाएको सेवा सुविधा समायोजन गरिएको हुनाले उद्योगले दिएको विशेष भत्ता बढाउन नसकिने बताए।
उनले उद्योगले दिएको विशेष भत्ताको रकम मजदुरलाई दिएमा उद्योगले मासिक ३५ देखि ४० लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपर्ने भएकाले मजदुरको सेवासुविधा बढाउन नसकिने बताए।
मिलले मजदुरलाई विशेष भत्ताको रुपमा ५ सयदेखि १ हजारसम्म दिँदै आएको थियो। तर, सरकारले एकमुष्ट ३ हजार ७ सय ५० रुपैयाँका दरले बढाएपछि तत्काल सो रकम दिन नसक्ने स्थिति रहेको प्रबन्ध निर्देशक ठाकुरले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।