काठमाडौं– मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनका लागि तानिएपछि विराटनगर उच्च अदालतमा विचाराधीन रहेको ३८ सय किलो सुन तस्करी प्रकरण पुन: सुनुवाइ सुरु भएको छ।
कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको इजलासमा बिहीबारदेखि १२ आरोपितहरूको निवेदनमा सुनुवाइ सुुरु भएको हो।
सर्वोच्च अदालतको बागडोर सम्हालेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको सुक्ष्म निगरानी संयन्त्रको निर्णयबमोजिम विराटनगर उच्च अदालतका पाँच न्यायाधीश न्यायपरिषद्मा तानिएको थियो।
सुनका मालिक भनिएका भुजुङ गुरुङ, दोदाराम खत्री र डेविट भन्ने छिरिङ वाग्ले घलेसहितका आरोपितको मुद्दामा सुनुवाइ सुरु भएको हो। पहिलो दिन निवेदकका कानुन व्यवसायीले बहस गरेका छन्।
मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनमा तानिएपछि उच्च अदालतले सबै प्रतिवादीको निवेदन एकै इजलासले सुनुवाइ गर्ने निर्णय गरेको थियो।
उच्च अदालतबाट काजमा मुख्य न्यायाधीश कुलरत्न भुर्तेल न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी तानिएका थिए।
न्याय परिषद्को टोलीले गत साता विराटनगर अदालत निरीक्षणका क्रममा कैफियत पाएपछि उनीहरुलाई छानबिनका लागि तानिएको थियो।
उच्च अदातलमा करिब २० अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएका थिए। सुनको मुख्य मालिकको आरोप लागेका भुजुङ गुरुङसहितका १४ प्रतिवादीहरू अहिले पनि विराटनगर उच्च अदालतमा आफू अनुकुल हुने इजलास खोज्नमै व्यस्त थिए।
धरौटीमा सहज छुटाउन सक्ने न्यायाधीशको इजलास खोज्दै उनीहरूले पाँच महिनादेखि मुद्दाको पेसी सार्दै आएका थिए। तर, राणाको एक्सनपछि उनीहरूले इजलासमा रोक्ने निवेदन दिन रोक लागेको थियो।
सुन तस्करीमा मुख्य आरोपिहरू सामान्य धरौटीमा छुट्नका लागि चलखेल गर्न पेसी सार्दै आएका थिए। सुन मालिकको रुपमा चिनिएका गुरुङले १६ पटक आफ्ना कानुन व्यवसायीलाई प्रयोग गरेर मुद्दाको पेसी सारेका छन्।
उनको मुद्दा ३१ वटा इजलासमा पेसी परेको छ। ६२ न्यायाधीशको इजलासमा उक्त मुद्दाको पेसी भए पनि सुनुवाइ हुन सकेको छैन। बिहीबार पनि गुरुङको मुद्दा पहिलो नम्बरमै पेसी थियो।
उनले उन्मुक्ति पाउने इजलास गठन नभएको संकेत पाए लगत्तै आफ्ना कानुन व्यवसायीलाई प्रयोग गदै स्थगित गराए।
सर्वोच्च धाउँदै ९ आरोपित
३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका नौ आरोपितहरू धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा लडिरहेका छन्।
जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध सर्वोच्चमा दायर गरेको निवेदनमा उनीहरू चलखेल गर्ने प्रयासमा छन्।
मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरू सर्वोच्च पुगेका थिए।
डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला र महावीरप्रसाद गोल्यानको मुद्दा पहिलो सुनुवाइ हुँदै फाइल मगाउने आदेशसमेत भएको छ।
मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सात आरोपितले सर्वोच्चमा निवेदन दिएका थिए। सरकारी पक्षले पनि दुई जनाविरुद्ध निवेदन दर्ता गराएको छ। उनीहरूको निवेदनमा पहिलो सुनुवाइ भइसकेको छ।
दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश गर्न आरोपितले अघिल्ला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए।
उनको अवकाशसँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेसी तोकिँदै आएको थियो।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल सुन तस्करीमार्फत नेपाल भित्र्याएको निष्कर्ष निकालेको थियो।
यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरीसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।
कोको छुटे?
जिल्ला अदालतले उपस्थित सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसलाई चुनौती दिँदै उच्च अदालत पुगेका मध्ये प्रहरी उच्च अधिकारी, सुन तस्करीमा मालिक भएको आरोप लागेका व्यापारी धरौटीमा छुटेका छन्।
मंसिर २७ गते मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य र विमल पोद्दार उच्च अदालत विराटनगरको आदेशबाट जनही १० लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
उनीहरुलाई उच्च अदालतका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले धरौटीमा छाडेको थियो।
उच्च अदालत मोरङबाटै गत असोजमा एसपी विकासराज खनाल, एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।