काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडानतर्फ सबै भन्दा बढी यात्रु बोक्ने सूचीको शीर्ष स्थानमा नेपाल एयरलाइन्स परेको छ।
नेपाल एयरलाइन्स मात्रै सन् २०१८ मा ४ लाख ९१ हजार ९ सय ७९ हवाई यात्रुलाई सेवा दिएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेशी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलगायत विभिन्न देशका २९ वटा एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडानतर्फ सेवा दिँदै आएका छन।
सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुमध्ये नेपाल एयरलाइन्सको हिस्सा मात्रै ११ दशमलब ३२ प्रतिशत पुगेको छ। सन् २०१७ मा याे हिस्सा करिब ९ प्रतिशतमात्र थियो। नेपाल एयरलाइन्सले सन् २०१८ मा अन्तर्राष्ट्रियतर्फ कुल ३ हजार ५ सय ५४ वटा उडान तथा अवतरण गर्दै धेरै यात्रु बोक्ने सूचिमा परेको हो।
सन् २०१८ को पहिलो ६ महिनासम्म नेपाल एयरलाइन्स तेस्रो बढी यात्रु बोक्ने सूचिमा थियो। तर, दुई वटा वाइडबडी जहाजले व्यावसायिक उडान सुरु गरेसँगै नेपाल एयरलाइन्स् पुनःबढी यात्रु बोक्ने कम्पनी आइपुगेको हो। यसअघि सन् २०१६ मा नेपाल एयरलाइन्स बढी यात्रु बोक्ने कम्पनीको रुपमा खडा भएको थियो।
तर, नेपाल एयरलाइन्सले ३१ वर्षे एउटा बोइङ बिक्री र एउटा जहाज नयाँ दिल्लीमा लामो समयसम्म ग्राउन्डेड हुँदा सन् २०१७ मा भने तेस्रो नम्बरमा परेको थियो। पहिलो नम्बरबाट तेस्रो नम्बरमा पुगेको नेपाल एयरलाइन्स पुनः एक नम्बरमा आउनेको प्रमुख कारण बाइडबडी जहाजको उडान भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन। ‘बाइडबडी जहाजको उडानसँगै नेपाल एयरलाइन्सले बजार हिसा बढाउन सफल भइसकेको छ’, उनले भने, ‘तर, यहाँ जहाज खरिदमा घोटाला भएको भन्दै अनावशयक ओरोप लगाइरहेको छन।’
नेपाल एयरलाइन्सले खरिद गरेको दुई वटा वाइडबडी जहाज अहिले पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। दुई वटै जहाज फुल फेजमा सञ्चालन भएको अवस्थमा नेपाल एयरलाइन्सको बजार हिसा १८ प्रतिशतको हाराहारीमा पुग्ने कंसाकार बताउँछन्। सन् २०१८ मा नेपाल एयरलाइन्समार्फत २ लाख ४४ हजार ६ सय १८ जना हवाई यात्रु विश्वका विभिन्न मुलुक पुगेका छन भने नेपाल भित्रिनको संख्या पनि २ लाख ४७ हजार ३ सय ६१ रहेको विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल एयरलाइन्स पहिलो स्थानमा पर्दै गर्दा भारतको जेट एयरवेज दोस्रो स्थानमा परेकाे छ। जेट एयरवेजले सन २०१८ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४ लाख ५० हजार ९ सय ४९ यात्रुलाई सेवा दिएको छ। साथै जेट एयरवेजले कुल ३१ सय ३८ वटा उडान तथा अवतरण गरेको छ। तेस्रो नम्बरमा भने कतार एयरवेज परेको छ। कतार एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने ३ लाख ९९ हजार ३ सय ३६ जनालाई हवाई सेवा प्रदान गरेको छ। कतार एयरवेजले सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुल २ हजार ९ सय १० वटा उडान तथा अवतरण समेत गरेको छ।
यसैगरी चौथो बढी यात्रु बोक्ने एयरलाइन्सको लिस्टमा फ्लाइ दुबई परेको छ, फ्लाइ दुबईले सन् २०१८ मा कुल २ हजार ३ सय ५० वटा उडान तथा अवतरण गरी ३ लाख ३७ हजार ४ सय ६४ यात्रुलाई हवाई सेवा प्रदान गरेको छ। यसैगरी पाँचाैमा परेको एयर इन्डियाले २ लाख ३७ हजार ४ सय ४१ र छैठौ नम्बरमा पर्न सफल एयर अरेबियाले २ लाख ३२ हजार ४ सय १८ यात्रुलाई हवाई सेवा दिएको छ।
सातौं नम्बरमा भने नेपालकाे निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्स परेको छ। हिमालयले कुल १ हजार ७ सय ७० वटा उडान तथा अवतरण गर्दै २ लाख २४ हजार १ सय ५३ यात्रुलाई हवाई सेवा प्रदान गरेको छ। यसैगरी भारतको बनारसमा उडान गर्दै आएको बुद्ध एयरलाइन्सले पनि ४ हजार ३ सय ९६ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।