काठमाडौं– तीन महिनाअघि धनकुटामा घाँटी रेटी हत्या गरिएका रामबाबु चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत कात्तिक १६ गते सुनसरीको इटहरीका चौधरी धनकुटाको हिलेमा आयोजना गरिएको रमाइलो मेला हेर्ने गएका थिए। उनी मेला नजिकै मृत भेटिएका थिए।
चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई प्रदेश १ प्रहरी कार्यालयको विशेष टोली र इटहरी प्रहरीले कालाबञ्जारबाट पक्राउ गरेको प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले जानकारी दिए।
पक्राउ पर्नेहरुमा सुनसरीकै सबिन राई र मृतक चौधरीकी श्रीमती रहेको बताइको छ। घटनाको अनुसन्धान भइरहेकाले यसभन्दा बढी केही भन्न नमिल्ने प्रहरीले जनाएको छ।
स्रोतका अनुसार श्रीमतीकै योजनामा चौधरीको हत्या गरिएको हुन सक्ने बताइएको छ। मृत चौधरी नेपाल प्रहरीका पूर्व असई हुन्।
चौधरीको हत्या भएपछि प्रहरीले तालिमप्राप्त कुकुर अनुसन्धानमा परिचालन गरेको थियो भने तत्कालै १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
तर, पनि हत्यारा पत्ता लाग्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।