काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन्।
नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डेफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताए। उनले नेपाली र स्विट्जरल्यान्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनाइसकेको र अरु पनि बन्ने जानकारी दिए।
उनले भने, 'नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ। हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ। हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ।'
नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उनले टेलिभिजनको सुरुवातसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन भएकाे बताए। उनले भने, 'नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन। सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन। यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो। सरकारले सँधै सहयोग गर्दै आएको छ।'
'नेपाल टेलिभिजनलाई नयाँ प्रविधिमा लान गाह्रो मानेर र त्यसमा निहुँ खोजेर कसको सेवा गर्दैछौँ? यस टेलिभिजनले अरुसँग प्रतिस्पर्धा गरोस् भन्ने, खेतमा कुटो कोदालो र पानी नदिने अनि मङ्सिरमा धान खोज्ने कसरी सम्भव हुन्छ?', मन्त्री बाँस्कोटाले आग्रह गरे, 'चारतारे/लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर प्रस्तुत भई वा मन्त्रीतिर हेरेर होइन प्रतिस्पर्धीलाई हेरेर काम गर्नुस्।'
मन्त्री बाँस्कोटाले अबको ६ महिनापछि सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जानुपर्ने आग्रह गरे। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानुनी प्रबन्ध हुन बाँकी छ।
नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र बनाई व्यावसायिक बनाउन राष्ट्रको आकाङ्क्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताए। उनले सञ्चार क्षेत्र आलोचक हुनुपर्ने भए पनि अब नकारात्मक भइरहनुपर्ने अवस्था नरहेको जनाए।
टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले नयाँ प्रविधिसँगै विषय र प्रस्तुतिमा पनि रुपान्तरणको वर्ष आरम्भ भएको जिकिर गरे।
चारवटै च्यानल एचडीमा
नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर आजदेखि एकैपटक एचडी प्रविधिमा रुपान्तरण भएको हो।
विकासका लागि सञ्चारको नाराका साथ विसं २०४१ मा टेलिभिजनको इतिहासमै पहिलो टेलिभिजनकाे रुपमा नेपाल टेलिभिजन स्थापना भएको थियो। यो अहिले भू-सतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ।
उत्कृष्ट विज्ञापनदाता सम्मानित
विज्ञापन एजेन्सीतर्फ उत्कृष्ट कारोबार गर्ने मिडिया हब प्रालि, कि एड्भर्डटाइजिङ सर्भिस प्रालि र एस्पो मिडिया प्रालिका प्रतिनिधिलाई सञ्चारमन्त्री बाँस्कोटाले सम्मान गरे।
यसैगरी हास्य शृखंलाका कलाकार मरीचमान श्रेष्ठ, राजु पौडेल, दमन रुपाखेतीलगायत कलाकारलाई सम्मान गरियो। टेलिभिजनको पहिलो प्रतीक चिह्न बनाउने दीपककुमार जोशीलाई र लामो समयसम्म चलेको कार्यक्रम 'विम्ब प्रतिविम्ब'का सञ्चालक गोपाल थापालाई पनि सम्मान गरिएकाे थियाे।
त्यस्तै ९ जना स्थानीय समाचारदाता र दीर्घ सेवाअन्तर्गत २८ जनालाई पुरस्कार घोषणा गरिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।