झापा– झापाको चन्द्रगढी विमानस्थलले रात्रीकालीन सेवा सुरु गर्ने भएको छ। विमानस्थलको रात्रीकालीन अपरेशन कक्षको उद्घाटन भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी भएको छ।
विमानस्थलको रात्रीकालीन उडान सुरुवातपछि भोलि नै प्रधानमन्त्री ओली ५ः३० बजे यती एयरलाइन्सबाट काठमाडौं फर्कने छन्।
‘दिउँसोको समयमा यात्रुको चाप बढ्दै गएपछि रात्रीकालीन उडान सुरु गर्न लागिएको हो’, विमानस्थल प्रमुख पूर्ण चुडालले भने, ‘उडान सुरु भएसँगै यात्रुलाई पनि सहज हुन्छ।’
विमानस्थलमा रात्रीकालीन उडान नुहँदा अहिले हवाई यात्रुले सास्ती भोग्दै आएका छन्।
रात्रीकालीन सेवाको लागि एयरलाइन्स कम्पनीहरूसँग संवाद भइरहेको समेत उनले बताए।
एयसलाइन्स कम्पनीले पनि यात्रु संख्यालाई हेर्दै उडान सेवा दिने प्रतिवद्धता गरेको उनको भनाइ छ।
बुद्ध एयरलाइन्सले भने मार्च १० बाट उडान गर्ने गरी टिकट खुल्ला गरिसकेको छ। अन्य एयरलायन्स ले भने केही दिनभित्रै टिकट खुल्ला गर्ने गरी तयारी गरिरहेका छन्।
विमानस्थलमा २०२० सालदेखि हवाईसेवा सुरु भएको थियो। तर, बर्खायाममा हिलो र हिँउदको हुस्सुको कारण नियमित उडान हुन सकेको थिएन। २०५६ सालमा विमानस्थलको स्तरोन्नति भएपछि मात्र नियमित उडान हुँदै आएको थियो।
पहिला टुइनेटर विमानबाट मात्र सेवा दिँदै आएको विमानस्थलबाट हाल जेट विमानको पनि उडान सुरु गरिएको प्रमुख चुडाल बताउँछन्।
दैनिक एउटा पनि उडान भर्न नसक्ने अवस्थाबाट अहिले दिनको ८ वटासम्म उडान भर्नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।
‘एयरलायन्सलाई विमान उडाइदिन पर्यो भनेर आग्रह गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘तर, अहिले एयरलाइन्सको हानथाप चल्न थालेको छ।’
मेची करिडोरको सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ, चन्द्रगढी विमानस्थल। भुटान, वर्मा, बंगलादेश र भारतका विभिन्न स्थानमा यात्रुहरूको लागि यो विमास्थल उपयुक्त देखिएको छ।
दार्जिलिङ, सिक्किम, गुहाटी, कलकत्ता लगायत भारतीय भूमीमा जानको लागि सहज हुने भएकोले चन्द्रगढी विमानस्थल सामरिक महत्वको भएको चुडालको भनाइ छ। अहिले पनि नेपाली भन्दा धेरै विदेशी यात्रु धेरै रहेको उनी बताउँछन्।
भारतको विभिन्न स्थानमा अध्ययन गर्ने काठमाडौं लगायत पश्चिमी जिल्लाका ३ हजार बढी विद्यार्थीको लागिसमेत यो विमानस्थल उपयक्त रहेको उनको तर्क छ।
दिवा सेवा हुँदा ५ः३० देखि उडान बन्द गर्नुपर्ने अवस्था थियो। अब २४ सै घण्टा सेवादिन आफूहरु तयार रहेको उनी बताउँछन्।
यही अनुपातमा विमानस्थल स्तरोन्नती भएमा केही वर्षमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने उनको बुझाइ छ। ‘१५ सय मिटर रनवे रहेको विमानस्थलको स्तरोन्नतीको लागि थप जग्गा खरिद गरिएको छ,’ उनले भने, ‘हामीले सोचेजस्तै काम भयो भने पूर्वको पर्यटन र विकासमा यो विमानस्थल कोशेढुङ्गा सावित हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।