काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसी १६औं अनसनको २२औं दिनमा छन्। उनको स्वास्थ्य अवस्था झन्झन् नाजुक बन्दै गएको छ।
इलामबाट १६औं अनसन थालेका डा केसीलाई 'काउन्टर' दिँदै अनसन थालेका विजय थापाको अनसन पनि जारी छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताए। थापालाई भेट्न आउनेहरुको संख्या पनि एकदमै न्यून रहेको बताइएको छ। यद्यपि थापाले डा केसीको अनसन नतोडेसम्म आफूले पनि नतोड्ने बताउँदै आएका छन्।
यसअघि नेपाल लाइभले थापाको पृष्ठभूमिबारे समाचार सम्प्रेषण गरेको थियो। उनको थप आपराधिक पुष्ठभूमि दिनदिनै खुल्दै गएको छ। जुन निकै अँध्यारो छ।
४ वर्ष जेल १ लाख धरौटी
ओखलढुंगाको साबिक सिस्नेरी गाविस ४ का थापा २०५८ सालमा बसाइँ सरेर उदयपुरको कटारी आएका थिए। कटारीबाट थापा परिवार काठमाडौं बसाइ सरिसकेका छन्। थापाको दिन भने अझै कटारी आसपासका तराईका जिल्लामै बित्ने गरेको छ।
आपराधिक क्रियाकलामा सानै उमेरदेखि लागेका थापा पटकपटक पक्राउ पर्दै छुटेका व्यक्ति हुन्। थापालाई धेरै पटक पक्राउ गरेर सम्झाएर छाडिएको रेकर्ड इलाका प्रहरी कार्यालय कटारीसँग छ।
उनीहरुको साथबाट २ राउन्ड गोली लोड भएको पेस्तोल प्रहरीले बरामद गरेको थियो। थापा ३ वर्ष कैद बिताएर १ लाख धरौटीमा रिहा भएका थिए।
पछिल्लो पटक भने उनी सिरहाको मिर्चैयाबाट पक्राउ परेका थिए। सिरहा प्रहरीको रेकर्ड अनुसार २०७१ चैत २५ मा हातहतियार तथा खरखजाना मुद्दामा थापासहित सिरहा मिर्चैया नगरपालिका–५ का उमेश मण्डल पक्राउ परेको प्रहरीको क्रिमिनल डाटा सिष्टममा रेकर्ड छ।
उनीहरुको साथबाट २ राउन्ड गोली लोड भएको पेस्तोल प्रहरीले बरामद गरेको थियो। हातहतियार तथा खरखजना मुद्दामा उनलाई जिल्ला अदालत सिरहाले ३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनी ३ वर्ष कैद बिताएर १ लाख धरौटीमा रिहा भएका थिए।
यसभन्दा अघि थापालाई इलाका प्रहरी कार्यालय कटारीले व्यापारीसँग जथाभावी पैसा असुलेको भन्दै २०७० भदौ १९ गते पक्राउ गरेको थियो।
कटारी, महोत्तरी र सिरहामा गरेर थापा ४ वर्ष कैद र १ लाख २८ हजार २ सय जरिवाना तिरेर छुटेको तथ्यांक प्रहरीसँग छ।
सार्वजनिक अपराधमा मुद्दा दायर भएर अनुसन्धान सुरु गरिएका थापा २०७० असोज १३ गते २८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। पछि उनको धरौटी जफत र थप २ सय रुपैयाँ जरिवाना तिराइएको क्रिमिनल डाटा सिष्टममा उल्लेख छ।
त्योभन्दा अघि थापालाई २०६७ जेठको अन्तिम साता जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो।
संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामक संगठनमा थापा महासचिव थिए। उक्त संगठनमार्फत तराईका केही जिल्लामा बम पड्काएर आतंक मच्चाउने र रकम असुल्ने योजना भएको त्यसबेला पत्रकार सम्मेलनमा बताइएको थियो।
त्यसबेला थापाको साथबाट प्रहरीले नाइन एमएमको सिक्सर पेस्तोल एक थान, एक राउन्ड गोली, संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा हस्तलिखित पत्र र ३ थान मोबाइल बरामद गरेको थियो।
उनी हातहतियार तथा खरखजना मुद्दामा महोत्तरीमा झन्डै एक वर्ष जेल बस्दै २०६८ बैसाख १८ गते रिहा भएका थिए। यसरी कटारी, महोत्तरी र सिरहामा गरेर उनी ४ वर्ष कैद र १ लाख २८ हजार २ सय जरिवाना तिरेर छुटेको तथ्यांक प्रहरीसँग छ।
अझै तराई प्रहरीको निगरानीमा
थापा ओखलढुंगाबाट उदयपुर हुँदै काठमाडौंको स्थानीय बासिन्दा भइसकेका छन्। तर उनको बास भने तराईकै विभिन्न जिल्लामा हुँदै आएको छ। उनी पछिल्लो समय रैथाने एकता समाजको नाममा तराईमा विभिन्न गतिविधि गर्दै आएका छन्। उनी समाजका महासचिव हुन् भने अध्यक्ष सन्तोष बराइली छन्। बराइली पनि कटारीकै स्थानीय हुन्।
थापाको पृष्ठभूमि आपराधिक देखिएकाले उनी र रैथाने समाजको सूक्ष्म ढंगबाट निगरानी भइरहेको प्रदेश २ को प्रहरी कार्यालयले जनाएको छ।
तराईका रैथानेको हकअधिकारका पक्षमा वकालत गर्ने भन्दै विभिन्न गतिविधि गरे पनि प्रहरीले उनको गतिविधि सूक्ष्म ढंगबाट नियालिरहेको जनाएको छ। प्रदेश २ का जिल्ला खासगरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाहीमा थापाको बढी बसोबास हुने गरेको प्रहरीले जनाएको छ।
तराईमा विभिन्न अर्धभूमिगत, भूमिगत र गैरराजनीतिक संगठनको नाममा आपराधिक गतिविधि हुने क्रम अझै रोकिएको छैन। यस्ता संगठनको आडमा आपराधिक गतिविधि गर्ने केही व्यक्ति प्रहरी कारबाहीमा मारिएका पनि छन्।
थापाको पृष्ठभूमि पनि आपराधिक देखिएकाले उनी र रैथाने समाजको सूक्ष्म ढंगबाट निगरानी भइरहेको प्रदेश २ को प्रहरी कार्यालयले जनाएको छ। स्रोतले भन्यो, ‘थापा मात्रै होइन। यसभन्दा अघि आपराधिक क्रियाकलापमा जोडिएका हरेक व्यक्ति प्रहरीको निगरानी छन्। थापा पनि हतियारसहित पटकपटक पक्राउ परेका व्यक्ति भएकाले निगरानी हुनु स्वाभाविक हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।