फ्रान्कफर्ट– युरोपेली केन्द्रीय बैंक (इसिबी) ले ५ सय दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसिबीले उक्त बैंकको नोट हटाउन लागेको हो।
कतिपय अपराधीहरूले सजिलोका निम्ति यो बैंकको नोट प्रयोगमा ल्याएका भए पनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसिबीको यो निर्णयले खिन्न बनाएको छ।
आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकहरूका केन्द्रीय बैंकहरूले बैजनी रङ्गको ५ सय दरको नोट जारी गर्न छाड्नेछन्।
जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन्। युरोपेली केन्द्रीय बैंकको विज्ञप्तिअनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५ सय दरका बैंक नोट प्रयोग गर्नेछन्।
जर्मनीको मार्गवर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५ सय दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गरे।
उनले ५ सय नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाए। 'मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ्। यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन।'
इसिबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरु बैंकहरुले पनि विस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन्।
इसिबीले यसको साटो अरु कम मूल्यका नोटहरूको संख्या बढाउनेछ। तर, घरमा ५ सयका नोट राख्दैमा आत्तिनु पर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ।
'मानिसहरुले यो नोट चलाउन वा घरमै राख्न सक्छन्,' इसीबीकी प्रवक्ता इभा टेलरले बताए।
गत महिना युरो नोटको प्रवाह हुँदा ५ सय दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।