मुगु– मुगुको खत्याड गाउँपालिका–११ बिरा खोलामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् । सहचालक घाइते भएका छन् ।
आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो ।
पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक २४ वर्षीय विमल बाग पुरिएका हुन् । बागको स्थायी ठेगाना बझाङ रहेको भए पनि पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेका चालकको उद्धारका लागि प्रहरी टोली खटिएको छ । पहिरो पन्छाएर चालकलाई निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
एक्स्काभेटरका सहचालक मुगुको सोरु गाउँपालिका–१ का २२ वर्षीय विनय मल्ल घाइते भएका छन् । माथिबाट खसेको ढुंगाले उनको हात र खुट्टामा चोट लागेको छ ।
उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरी परिचालन गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।