काठमाडौं - नेपाल टेलिकमले फोरजी इन्टरनेट सेवा सुरु गरेको दुई वर्ष भइसकेको छ। तर, फोरजी सेवा विस्तारमा नेपाल टेलिकम आक्रमक हुन भने सकेको छैन। टेलिकम भन्दा पाँच महिनापछि २०७४ जेठबाट फोरजी सेवा सुरुवात गरेको निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल याे सेवामा टेलिकमभन्दा अगाडि छ।
२०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको थियो। सुरुवाती चरणमा टेलिकमले काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी अहिले पनि विस्तार हुने सकेको छैन।
दुई वर्षको अवधिमा टेलिकमको फोरजी सेवा लिने ग्राहकको कात्तिकसम्मकाे संख्या ६ लाख ६६ हजार १ सय ८५ मात्रै पुगेको छ। तर, पाँच महिनापछि काठमाडौं, पोखरा र धुलिखेलबाट फोरजी सेवा विस्तार गरेको एनसेलको ग्राहक संख्या भने १४ लाख ३२ हजार ६ सय ७६ पुगिसकेको छ। टेलिकमले राजधानीमा ३ सय ८ वेस टावर स्टेसन (बिटिएस) र पोखरामा २५ बिटिएसबाट फोरजी सेवा सुरु गरेको थियो।
टेलिकमको फोरजी सेवा विस्तारमा भनेअनुसार काम गर्न नसकेको भन्दै टेलिकमकी तत्कालीन महाप्रबन्धक कामिनीराज भण्डारीलाई सरकारले हटाएर डिल्लीराम अधिकारीलाई ल्याइसकेको छ।
टेलिकमले अहिले १८ अर्बभन्दा बढी रकम खर्च गर्दै फोरजी सेवा विस्तारको लागि प्रक्रिया अगाडि बढाइसकेको छ।
यसैगरी, स्मार्टको फोरजी सेवा प्रयोगकर्ता पनि ४६ हजार भन्दा बढी भइसकेको नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको 'एमआइएस रिपोर्ट'मा उल्लेख छ।
प्राधिकरणले सार्वजनिक गरेको 'एमआइएस रिपोर्ट':

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।