काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको ‘क्यान इन्फोटेक, २०१९’ को सम्पूर्ण तयारी पूरा भएको छ।
‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म चल्नेछ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ। मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ भने नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिने छन्।
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ।
मेलामा विभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सिसिटिभी, प्रोजेक्टर, एन्टी भाइरस, विद्याालयमा प्रयोग हुने स्मार्ट बोर्डलगायतका सामानहरुमा आकर्षक छुट प्रदान गरिने विभिन्न कम्पनीहरुले जनाएका छन्।
यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको क्यान महासचिव रञ्जीत कुमार पोदार बताए। मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ। जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइने छ। प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिने पनि पोदारले जानकारी दिए।
कुल १ सय ७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत कम्पनीका स्टल रहने छन्। मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। माघ १७ गते ‘बिजनेस डे’का दिन भने सबैले १ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने क्यानले जनाएको छ।
प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन्। त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।