काठमाडौं- सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’को २५औँ संस्करण माघ १५ देखि २० गतेसम्म हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पुर्याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो। ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासङ्घले जानकारी दिएको छ।
भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म सञ्चालन हुने उक्त मेलामा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न स्वदेशी र विदेशी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ। मेला अवलोकनकर्ताले एकै थलोमा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन्। कूल १७५ कक्ष रहने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा तालिम प्रदायक संस्थाको सहभागिता रहनेछ।
क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले विगतमा जस्तै यस पटक पनि मेलामा प्रविधिका नयाँ आविष्कार, रोबोट प्रदर्शनी तथा कृषि उत्पादनमा प्रविधिको प्रयोगसम्बन्धी आविष्कार लगायतबारे जानकारी गराइने बताए।
मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउने छन्। बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एकएक जोडीले दुई रातका लागि खाने बस्नेसहित जान–आउने टिकट पाउनेछन्।
मेलाको सह–आयोजक ई–सेवाबाट यी सबै सुविधा उपलब्ध गराइने कम्पनी बजार व्यवस्थापक अरुण फुयाँलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।