काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि नेपाल इन्भेष्टमेन्ट बैंकले व्यवसायी अजय सुमार्गीसँग २३ करोड रुपैयाँ फिर्ता गराएको छ।
गत पुस २४ गते सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्द मोहन भट्टराईको पूर्ण इजालसले अल्पकालीन आदेशको भरमा झिकेको रकम पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो।
आदेशलगत्तै सर्वोच्च प्रसाशनले नेपाल राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकलाई पत्र लेख्दै व्यवसायी सुमार्गीको बैंकको पैसा पुरानै अवस्थामा फर्काउन भनको थियो।
पुस १० गते सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले रकम झिक्न अल्पकालीन आदेश दिएको भन्दै सुमार्गीले बैंकमा रहेको रकम निकालेका थिए। इन्भेष्टमेन्ट बैंकमा मुक्तिश्री सिमेन्टका लागि भन्दै भित्र्याएको रकम शंकास्पद रहेको भन्दै राष्ट्र बैंकले रोक्का राखेको थियो।
मुक्तिश्रीका नाममा खोलेको खातामा इन्भेष्टमेन्ट बैंकमा रहेको सुमार्गीको ७८ करोड ७ लाख रुपैयाँमध्ये सुमार्गीले त्यहाँबाट निकालेर ३ वटा बैंकमा जम्मा गरेका थिए। सुमार्गीले नेपाल बंगलादेश (एनबी) बैंकमा २५ करोड, प्राइम बैंकमा २० करोड र महालक्ष्मी विकास बैंकमा १० करोड रुपैयाँ जम्मा गरेका थिए। यी तीनै बैंकलाई समेत राष्ट्र बैंकले खाता रोक्का गर्न परिपत्र गरेको थियो।
सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
यस अघिपनि समार्गीले पटक–पटक गरी ८३ करोड २५ लाख र २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्।
सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।
खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धराशायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।