संसदमा आएको यो मेरो पहिलो अनुभव हो । पार्टीको जनवर्गीय संगठनहरुमा खेल्ने भूमिकाभन्दा संसदमा खेल्ने भूमिका निकै फरक हुन्छ । मुख्यगरी यो नीति निर्माणको जिम्मेवारी भएकाले फरकपन महसुस भयो।
पछिल्लो डेढ वर्ष मैले महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा रहेर काम गरेँ । यसअन्तर्गत चार वटा मन्त्रालय पर्छन् । समितिभित्र पनि मैले युवा तथा खेलकुद र शिक्षा उपसमितिमा रहेर काम गरेँ । सो क्षेत्रमा मैले धेरै अनुभव बटुल्न पाएँ । हामीले आफ्नो समितिबाट १२ वटा विधेयक पारित गरायौं । केही विधेयक पाइपलाइनमा छन् । समय सीमाका कारण तिनलाई आफ्नै कार्यकालमा टुंगो लगाउन हामी निकै हतारिएका छौं।
प्रत्यक्ष निर्वाचितभन्दा समानुपातिक सांसदहरुलाई अन्य कुरामा विभेद नभए पनि आर्थिक कुरामा विभेद छ । यसले आफ्नो क्षेत्रमा गर्न चाहेका कैयौं काम गर्न गाह्रो पर्ने गरेको छ। यद्यपि मैले सम्भव भएसम्म स्थानीय स्तरमा केही काम गरेँ । सांसद विकास कोषका साथै आफूले पहल गरेर लगेका योजनाबाट विकास-निर्माणका केही काम भएका छन् । तर, गर्न चाहेजति काम पक्कै पनि हुन सकेको छैन ।
मेरो करिब चारवर्षे कार्यकालमा गरेका कामहरुमध्ये ८० प्रतिशत कामहरु शिक्षा क्षेत्रमा गरेको छु । शिक्षामा पहुँच र गुणस्तर वृद्धि मेरो मुख्य रुचिको विषय पनि भएकाले महोत्तरीलाई शिक्षाको स्तरमा कसरी माथि उठाउने भनेर मैले निरन्तर पहल गरिरहेको छु । सोचेजति सबै काम पूरा नभइसके पनि मेरो सक्रियता जारी छ ।
मैले महोत्तरीमा गौरीडाँडाको जनता माविमा पुस्तकालय निर्माणमा सहयोग गरेँ । यसैपालि चेरु माविमा कम्प्युटर ल्याब बनाउन पहल गरेको छु । १५ वटा कम्युटरसहित सम्पूर्ण डेकोरेसन गरिसकिएको ल्याब केही दिनमै हस्तान्तरण हुनेछ । त्यस्तै, पञ्चधुरा प्राविमा बालबालिकाहरुलाई खेल्दै–सिक्दै गर्न सघाउ पुर्यादउन केही सामग्री वितरण भएको छ । अन्य केही विद्यालयमा पनि कोषले भ्याएसम्म सानातिना काम गरेको छु ।
महोत्तरी क्षेत्र नम्बर १ का माध्यमिक विद्यालयहरुलाई पुस्तकालयका लागि दुई लाख रुपैयाँका पुस्तकहरु वितरण गरेको छु ।
मेरो सांसद कोषबाट वृद्धाश्रम, सामुदायिक भवन, बाटो र पोखरी पनि बनेको छ । केही ठाउँमा कोषकै रकमले पुगेको छ भने कतै अन्य सांसदको कोष र अन्य क्षेत्रबाट थपथाप भएर पनि काम भएका छन्।
गौरीडाँडामा सर्पदंश अस्पताल बनाइएको छ । यसमा मेरो, गिरिराजमणि पोखरेल र सिरहाकी सांसद निर्जला राउतको सहयोग छ । त्यसलाई भेन्टिलेटरसहित उच्च प्राविधिक बनाउने प्रयास भइरहेको छ । त्यसका लागि हाम्रो कोषले नपुग्ने भएकाले सम्बन्धित ठाउँमा डेलिगेसन जाने र अन्य पहल गर्ने काम भइरहेको छ । मैले संसदमा पनि यसबारे कुरा उठाएको छु।
महोत्तरी क्षेत्र नम्बर १ का छात्राहरुलाई लोकसेवाको निःशुल्क तयारी र तालिम गराउने भनेर केही रकम छुट्याएको छु । मानव सूचकांकमा तल रहेको त्यस ठाउँका छात्राहरुलाई यसबाट अगाडि बढ्न मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ । त्यो कार्यक्रम निकै लोकप्रिय पनि भयो।
बर्दिबास–जयनगर रेलमार्ग निर्माणको काम अघि बढाउन मुआब्जा लगायत केही समस्या थिए । त्यहाँ तीन–चार वटा संघर्ष समिति बनेपछि रेल्वेको काम नै रोकिएला कि भनेर हामी कुनै समय आत्तिएका थियौं । तर, त्यो झमेला मिलाएपछि अहिले काम अगाडि बढिरहेको छ।
मेरो प्रयासमा हात्तीलेठमा दस हेक्टर जमिनमा गरिएको वृक्षरोपणले पनि निकै प्रशंसा पायो । त्यो ठाउँ अहिले निकै निकै हराभरा भएको छ । त्यसका लागि एक वर्ष मैले आफ्नो सांसद विकास कोषको पैसा हालेँ । अर्को वर्ष वन मन्त्रालयको पैसा थपियो ।
कार्यकालमा केही रमाइला त केही नरमाइला अनुभूति सँगालियो । अब त कार्यकाल पनि सकिन लाग्यो ।
यसबीच शिक्षाको आठौं संशोधन पारित गर्दा निकै खुसी लागेको थियो । त्यसले लामो समयदेखिको शिक्षा क्षेत्रको अन्योललाई एउटा निष्कर्ष दियो । धेरै राम्रो पक्ष हुँदाहुँदै पनि फेरि नवौं संशोधन आएको छ । त्यो आउनुहुँदैनथ्यो भन्ने मलाई लाग्छ।
संविधान घोषणा हुँदा पनि निकै खुसी लागेको थियो । हुन त, त्यतिबेला हामी दबावमा परेका थियौं । मधेसका सांसद कुण्ठित भएका थिए । मैले नै ४१ वटा संशोधन हालेको थिएँ, जुन म फिर्ता लिने पक्षमा थिइनँ । तर, अध्यक्ष कामरेडले त्यसलाई पार्टीको सम्पत्ति हुने र पछि संशोधनमार्फत हल गर्ने भनेपछि मैले फिर्ता लिएको थिएँ।
कहिलेकाहीँ नरमाइलो पनि लाग्छ । कतिपय समस्या जनताबाट हामीकहाँ सीधै आउँछन् । तर, हामीले सबै समस्यालाई हाम्रो तहबाटै हल गर्न सक्दैनौं । हामीले त्यसलाई माथिल्लो तहमा लैजान्छौं । त्यहाँबाट पनि हल भएन भने साह्रै दुःख लाग्छ।
भूकम्पको बेला हामीले पनि राहतको लागि सक्दो सहयोग गरेका थियौं । कतिपय ठाउँमा हामी आफैं पनि प्रत्यक्ष जुटेका थियौं । बाढी प्रभावितहरुको लागि हामीले एक महिनाको तलब दिएका छौं । अन्य पहल पनि गरेका हौं र गरिरहेका पनि छौं। तैपनि सांसदहरुमाथि अपजस आउँछ।
राज्यको एकद्वार प्रणालीले पनि बेलाबेला नमज्जा महसुस गराउँछ । कोष धेरै छ र त्यसमा राहत संकलन भए पनि प्रभावकारी वितरण हुँदैन । तर, केही गरेन भनेर सांसदहरुलाई दोष दिन्छन्।
म सार्वजनिक गाडीमा यात्रा गर्छु । कति साथीहरुले असुविधा भयो भनेर गुनासो गर्नुहुन्छ । कतिपयले लोगो छोपेर हिँड्यौं पनि भन्नुहुन्छ । तर, मलाई भने गर्व लाग्छ । सार्वजनिक रुपमा हिँड्दा आफ्नो कामप्रति जनताको प्रतिक्रिया बुझ्न पाइन्छ।
संविधान निर्माणकै चरणमा चाहिँ त्यसरी सार्वजनिक गाडीमा चढ्दा जनताको घोचपेच केही बढी हुन्थ्यो । ‘सभासद आउनुभयो, संविधान बनाउनुहुन्न, भत्ता मात्रै खानुहुन्छ’ भन्ने आवाज सुनिन्थ्यो । तर, संविधान बनिसकेपछि भने हेर्ने नजर बदलिएको छ । अहिले चाहिँ, ‘तपाईं पनि सांसद हुनुहुँदो रहेछ, तपाईंलाई गाडी दिएको छैन ?’ भनेर सोध्नेहरु छन्।
यो त काठमाडौंको कुरा भयो । तर, जब हामी यहाँबाट झरेर आफ्नो क्षेत्र (प्रदेश २) मा जान्छौं, केही असन्तुष्टि सुनिन्छ । स्थानीय जनताबाट ‘हाम्रो कुरै नसमेटी किन संविधान बनाएको ?', 'हाम्रो लागि संविधानमा के लेखेका छौ र ?’ जस्ता प्रश्नहरु सुन्नुपर्छ । त्यहाँको प्रतिक्रिया मिश्रित छ।
यद्यपि अहिले संविधान कार्यान्वयन भइरहँदा खुसी लागेको छ । यो हाम्रो निम्ति सौभाग्यको कुरा हो।
(माओवादी केन्द्रबाट महोत्तरीकी समानुपातिक सांसद साहसँग किशोर दहालले गरेको कुराकानीमा आधारित।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।