भैरहवा– भारतीय सीमासँग जोडिएको र आर्थिक रुपमा सक्षम बन्दै गरेको जिल्ला रुपन्देहीमा पछिल्ला वर्ष पर्यटकलाई केन्द्रित गरेर स्तरीय होटलमा लगानी बढेको छ।
जिल्लामा आर्थिक गतिविधि बढिरहेका बेला लुम्बिनी, भैरहवा, बुटवल, तिलोत्तमा, बेलहियालगायतका क्षेत्रमा सुविधासम्पन्न नयाँ होटल खुल्न थालेका हुन्। पर्यटन व्यवसायीहरुका अनुसार रुपन्देहीमा पछिल्लो १० वर्षमा होटल व्यवसायमा अर्बौंको लगानी थपिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी तथा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण सामान्यदेखि पाँच तारेसम्मका सुबिधासम्पन्न होटलहरु सञ्चालनमा आएका छन्।

हाेटल हाेक्की
बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको तयारी र अन्य राष्ट्रिय गौरवका आयोजनालगायतका कारणले यो क्षेत्र मुलुकमै आर्थिक हबको रुपमा अगाडि बढेको हो। आर्थिक क्षेत्रका लागि मेरुदन्डका रुपमा रहेको भैरहवा–लुम्बिनी क्षेत्रमा होटल निर्माण गरी सञ्चालन गर्ने क्रम बढ्दो छ।
यहाँ तीन तारे, पाँच तारे र विदेशी पर्यटकलाई लक्षित गरी खोलिएका सुविधासम्पन्न करिब १ सय ५० बढी होटल छन्। यी होटलमा करिब १५ अर्बभन्दा बढीको लगानी गरिएको होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले जानकारी दिए।
‘लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी थपिएको छ’, श्रेष्ठ भन्छन्, ‘विमानस्थल निर्माण सकिँदासम्म सानाठूला गरी धेरै होटल सञ्चालनमा आउने तयारीमा छन्।’

टाइगर प्यालेस रिर्सोट
तिलोत्तमामा १ वर्षदेखि विदेशी लगानीको सिल्भर हेरिटेज ग्रुपको पाँच तारे टाइगर प्यालेस रिर्सोट सञ्चालनमा आएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा क्यासिनोसमेत रहेको यो रिर्सोट पश्चिम क्षेत्रकै पहिलो पाँच तारे रिर्सोट हो।
यो रिर्सोटमा १ सय ५० कोठा छन् भने अरु ३ सय कोठा थप गर्ने तयारी छ। रिर्सोटका ६ वटा कोठाबाट सिधै स्वीमिङ पुलमा जान सकिन्छ। रिर्सोटमा आधुनिक क्यासिनो, रेष्टुरेन्ट, कन्फ्रेन्स हल, हेल्थ क्लबलगायतका सुविधा छन्।

पवन प्यालेस इन्टरनेसनल
टाइगरसँगै अर्को पाँचतारे स्तरको होटल पवन प्यालेस इन्टरनेसनल लुम्बिनीमा सञ्चालन हुँदैछ। अघिल्लो साता बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टका क्रममा ३ दिन परीक्षणस्वरुप सञ्चालन गरिएको होटल छिट्टै नै पूर्णरुपमा सञ्चालनमा आउने होटलका प्रबन्ध निर्देशक पवन हलवाईले बताए।
यसमा १ सय ५० कोठा, ३ रेष्टुरेन्ट, कफी सप, २ वटा कन्फ्रेन्स हल, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, मेडिटेसन हलको व्यवस्था गरिएको छ।
भैरहवाको होटल बोधी रेडसनले पनि स्तर वृद्धि गरेर पाँच तारे होटलकै स्तरमा सेवासुविधा बढाएको छ। १ सय ६ वटा कोठा रहेको रेडसनले पर्यटक तान्न कोठामा तापमान अत्याधिक भएमा पानी फाल्ने प्रविधि (फायर फाइटिङ) जडान गरेको छ। एकैसाथ २ सय भन्दा बढीले बास बस्न सक्ने रेडसनले सबै सुविधा पाँच तारेकै स्तरमा पुर्याएको महाप्रबन्धक अमृत खनालले दाबी गरे। यस होटलमा करिब ७० करोड माथि लगानी भइसकेको छ।

बोधी रेडसन
भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको लगानीमा पाँच तारे होटल खुल्दै छ। लुम्बिनीमा जापानी नागरिक नोर्बु कासाईको लगानीमा रहेको लुम्बिनी होटल कासाईले स्तरवृद्धि गरेको महाप्रबन्धक विनेश मानन्धरले बताए। लुम्बिनीकै होटल होक्के, भैरहवाको निर्भाणा होटलले पनि स्तरवृद्धि तथा सेवासुविधा विस्तार गर्ने क्रममा रहेको बताएका छन्।
भैरहवामै अर्को पाँच तारे होटल नान्स निर्माणको क्रममा रहेको छ। यो होटलमा करिब ५० करोडभन्दा माथिको लगानी रहने बताइएको छ। यो क्षेत्रमा अत्यधिक सम्भावना रहेकाले होटल खुल्ने क्रम बढेको पर्यटन व्यवसायीहरु बताउँछन्। व्यवसायीले सरकारले होटल व्यवसायमा भएको लगानी सुरक्षित गर्ने किसिमको नीतिहरु ल्याए होटल व्यवसाय अझै फस्ट्याउने दाबी गर्छन्।
सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीमा मात्रै एकै दिन ३ हजारभन्दा बढीले बास बस्न पुग्नेगरी होटल तयार भइसकेको दाबी गर्छन्।
लुम्बिनी र भैरहवामा मात्रै हैन, बुटवलमा होटल डार्सिज, क्लब डेनेभो, सिद्धार्थ रिर्सोट, आम्रपाली रिर्सोट, मणिग्राममा ड्रिमल्याण्ड रिर्सोटले समेत स्तरवृद्धि गरिरहेका छन्। बुटवलमा पछिल्लो समयमा आरम्भ रिर्सोट, दरबार होटल, होटल एभेन्यू, नयाँमिलमा लक्ष्मी होटल सञ्चालनमा आएका छन्।
भैरहवास्थित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदा दैनिक ५ हजार कोठा आवश्यक पर्ने व्यवसायीको अनुमान छ। सरकारले सन् २०१९ भित्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुुरु गर्ने तयारी गरेको छ।
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउँदै छ। स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक भित्रिनेमध्ये बेलहिया नाका पनि भैरहवामा नै पर्छ। यसका अलावा यदि विमानस्थलको निर्माण समयमै सम्पन्न भयो भने हवाईयात्रुको चाप अत्याधिक बढ्छ। यसलाई मध्यनजर गर्दै अहिले देखिनै भैरहवा, लुम्बिनी तथा बुटवल क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण गर्ने क्रम बढ्दै गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।