राजविराज– ‘विद्युत् उपयोग गर्ने तर शुल्क नबुझाउने’ उपभोक्ताका कारण नेपाल विद्युत्प्राधिकरण राजविराज वितरण केन्द्रको बक्यौता रकम बढ्दै गएको छ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा वितरण केन्द्रले २ करोड ६६ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ बक्यौता उठाउन बाँकी छ। बक्यौता रकम बुझाउन कार्यालयले पटक–पटक ताकेदा गर्दा पनि त्यसको सुनुवाइ भएको छैन।
बक्यौता नबुझाउनेमा व्यक्तिसहित उद्योग र कलकारखानासमेत छन्। सबैभन्दा बढी बक्यौता भएका गोपाल च्यारिटी ट्रस्टले ५ लाख ८९ हजार ५ सय ७६, सञ्जय सःमिलले ५ लाख ४१ हजार २ सय ८१, लक्ष्मी राइस मिलले ४ लाख ९३ हजार ७ सय २९ र उम्देश्वर राइस मिलले ४ लाख ५७ हजार ३ सय ३० रुपैयाँ बुझाउन बाँकी छ।
यसैगरी, वाटर सप्लाइ प्रोजेक्टले ४ लाख १२ हजार ६ सय ८०, रेडियो छिन्नमस्ताले ३ लाख २९ हजार १ सय ७, विवेक खाद्य उद्योगले ३ लाख ४५ हजार ३ सय ३२, मावि लौनियाँ तिलाठीले ३ लाख ७५ हजार ३ सय १५, कठौना बजार सिँचाइ जल उद्योगले ३ लाख १२ हजार ४ सय ५२ र लक्ष्मी सःमिलले ३ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ बुझाउन बाँकी रहेको कार्यालय प्रमुख चन्द्रनारायण साहले बताए।

प्राधिकरणका कुल ७२ हजार ६ सय ३ मध्ये २० हजारभन्दा बढी बक्यौता भएका कुल ३ सय ५३ ग्राहक छन्। १ लाखभन्दा बढी बक्यौता भएका ४६, २ लाखभन्दा बढी भएका १६, ३ लाखभन्दा बढी भएका ८, ४ लाखभन्दा बढी भएका ५ र ५ लाखभन्दा बढी बक्यौता भएका २ जना ग्राहक छन्।
१ सय ३१ को लाइन काटियो
विद्युत्उपयोग गर्ने तर महसुुल नबुझाउने गर्न थालेपछि कार्यालयले १० हजार भन्दा बढी बक्यौता भएका उपभोक्ताको विद्युत्लाइन काट्न थालेको छ। चालु आवको पुष मसान्तसम्ममा कुल १ सय ३१ ग्राहकको लाइन काटिएको छ। लाइन काटिएपछि ती ग्राहकबाट ४५ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ बक्यौता असुल भएको छ।
‘औषत ८६ प्रतिशत मात्रै महसुल संकलन हुन थालेपछि हामीले लाइन काट्न सुरु गरेका छौँ’ कार्यालय प्रमुख साहले भने, ‘यो प्रक्रियालाई निरन्तरता दिएर बक्यौता रकम घटाउने योजना छ।’
चुहावट घट्यो
सप्तरीमा विद्युत्चुहावट भने घटेको छ। चुहावटका कारण सप्तरीमा मुलुकमै सबैभन्दा बढी लोडसेडिङ हुँदै आएको थियो। आव २०७२/०७३ मा ५९ प्रतिशत, २०७३/०७४ मा ५३ प्रतिशत र २०७४/०७५ मा ५० प्रतिशत चुहावट रहेको सप्तरीमा हाल ४१ दशमल ५२ प्रतिशत मात्र चुहावट हुने गरेको कार्यालयले जनाएको छ।

घरायसी प्रयोजनदेखि खेती, उद्योगधन्दा सञ्चालन लगायतका काममा पनि विद्युत् चुहावट हुन थालेपछि टोली परिचालन गरी हुकिङ थुत्ने, व्यक्ति र उपकरण नियन्त्रण गर्ने, जरिवाना गर्नेलगायतका प्रकृया सुरु गरिएको छ। ‘यस वर्ष हामीले चुहावटलाई ३६ प्रतिशतमा झार्ने योजना बनाएका छौँ,’ साह भन्छन्, ‘सबैको सहयोग र सद्भाव रहे सप्तरीलाई लोडसेडिङ र चुहावटमुक्त बनाउन धेरै समय लाग्दैन।’
४ सय जना पक्राउ
चालु आवमा हुकिङ गरेर विद्युत् चुहावट गर्ने ४ सय जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
विद्युत् चोरी आरोपमा पक्राउ परेकाबाट कुल ५० लाख ६० हजार १ सय ५० रुपैयाँ जरिवाना असुल भएको छ भने विद्युत् चुहावट गरी घरायसी र खेती प्रयोजनमा प्रयोग भएका ७३ थान मोटर, टिभि, फ्रिज, फर्निचरका समान जफत गरिएको छ।
यस्तै, यसै अवधिमा मिटरबाटै अनियमितता गर्ने एकसय जना ग्राहकलाई पनि कारबाही गरिएको छ। कार्यालय प्रमुख साहले सप्तरीमा बक्यौता रकम र हुकिङ सबैभन्दा चुनौतीको विषय बनेको बताए। बक्यौता रकम असुल गरी चोरी नियन्त्रण गर्न सके बिजुलीको समस्या समाधान हुने उनले दाबी समेत गरे।
मिटरको माग बढ्यो
हुकिङ गरी विद्युत् प्रयोग गर्नेलाई पक्राउ तथा कारबाही गर्न सुरु गरिएपछि सप्तरीमा मिटरको माग बढेको छ। मंसिर र पुष महिना मात्रै कार्यालयले ८ हजार र यस आवमा कुल १२ हजार मिटर वितरण गरेको छ। चोरी नियन्त्रण अभियान निरन्तर जारी रहेकाले मिटरको माग अझै बढिरहेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।