काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारले पाउँदै आएको विदेशी मुद्रा सटहीमा ३ सय अमेरिकी डलरको कटौती गरेको छ।
बैंकले आज एक सर्कुलर जारी गर्दै यसअघि ५ सय डलरसम्मको सटही सुविधा पाउँदै पाउने व्यवस्थालाई परिवर्तन गरेको हो। अब श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारले राहदानीवापत अधिकतम २ सय अमेरिकी डलरसम्म मात्र सटही सुविधा पाउने छन्।
बैंकले चालु आर्थिक वर्षको सुरुवाती महिनादेखि देशको भुक्तानी सन्तुलत ऋणात्मक हुन थालेपछि डलरको सटही सुविधामा राष्ट्र बैंकले कडाइ जनाएको छ।
राष्ट्र बैंकले केही महिनाअगाडि मात्रै विदेश घुम्न जाने नेपालीले पाउँदै आएको प्रतिव्यक्ति २५ सय डलरसम्मको सटही सुविधालाई १५ सय डलरमा झारेको थियो।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा देश भित्रिने भन्दा बाहिरिने रकम ८५ अर्ब रुपैयाँले ऋणात्मक छ। त्यसैगरी, चालु खाता पनि घाटा १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११०२ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा १०६५ अर्ब ८० करोड रहेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आइ २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको ९८९ अर्ब ४० करोडको तुलनामा २०७५ मंसिर मसान्तमा ६६ अर्ब २६ करोड रुपैयाँले कमी आइ ९२३ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।