काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकराज पौड्यालले पदबाट राजीनामा दिएका छन्। तीन महिना डेपुटी सिइओ र १४ महिना प्रमूख हुँदै उनी कार्यकालको ३४ महिना पहिले नै सोमबार राजीनामा दिएर उनी आईएमईबाट बाहिरिएका हुन्।
बैंक स्थापना भएको १२ वर्षको अवधिमा ५ व्यक्ति प्रमूख कार्यकारीले उक्त बैंकको सीइओको पदत्याग गरिसकेका छन्। अधिकांशले निर्धारित ४ वर्षे कार्यकाल पुरा गर्न पाएका छैनन्।
किन टिक्दैनन ग्लोबल आइएमईमा सिइओ?
जानकारहरुका अनुसार बैंकका अध्यक्ष चन्द्र ढकालको अव्यावसायिक र अनावश्यक दबाब सहन नसकेर सिइओ टिक्न सक्दैनन्। पौड्याललाई पनि यस्तै व्यवहार गरी निक्लन वाध्य पारेको बैंक स्रोत बताउँछ। अध्यक्ष ढकालले सिईओ पौड्याललाई राजिनामा गर्न बाध्य पार्न सहायक प्रमुख कार्यकारी अधिकारीमा आपूm निकट महेश ढकाललाई नियुक्त गरे। अध्यक्ष ढकालले आफ्नो स्वार्थ अनुरुपका काम पूरा गराउन महेश ढकाललाई लगाउँथे।
‘सिइओ पौड्याललाई पछिल्ला दिनमा डमी मात्र बनाइएको थियो, बैंक जस्तो संवेदनशील संस्थामा हुने अव्यवसायिक अभ्यासले अन्योल सृजना गरिरहेको थियो’, बैंकका एक उच्च कर्मचारीले नेपाल लाइभसँग भने, ‘पौडेल सरको हकमा यो सफ्ट कू जस्तै हो भनेर बुझौं।’ पटक पटक सिइओ परिवर्तन गर्न थालेपछि ग्लोबल आएमई बैंकलाई राष्ट्र बैंकले पनि सुक्ष्म रुपमा निगरानी गर्न थालेको छ।
बैंकमा सुमन न्यौपाने, अनिल ज्ञवाली, रत्नराज बज्रचार्य र जनक शर्मा पौड्यालले सिइओको जिम्मेवारी समालेका छन्। ज्ञवाली २ पटक बैंकको सिइओ बने। पछिल्लो पटक २०७२ जेठमा सिईओ बनेका ज्ञवालीले कार्यकाल बाँकी छँदै ०७४ भदौ २० मा राजीनामा दिएका थिए। दोस्रो पटक चार वर्षका लागि सिइओ नियुक्त भएका ज्ञवालीले २ वर्ष मै राजीनामा दिएका थिए।
उनले राजीनामा दिएसँगै जनक पौडेलले २०७४ भदै २९ गतेदेखि कामु सीइओको कार्यभार सम्हाल्दै तीन महिनापछि सिइओ बनेका थिए। नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका पौडेलले त्यंही ११ वर्षे लामो अनुभव हासिल गरेका थिए। त्यसपछि एनआइसी बैंक(अहिलेको एनआइसी एसिया) मा पनि उनी आवद्द भएका थिए। एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेका थिए। त्यसपछि उनी लक्ष्मी बैंकको स्थापनामा सक्रिय रहेका थिए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनबाट फर्केसँगै उनी ग्लोबल आईएमईको सिइओमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।