काठमाडौं- नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ।
बैंकले सोमबार निर्देशन जारी गर्दै १० करोड रुपैयाँ चुक्ता पुँजी हुने व्यवस्थालाई परिर्वतन गर्दै ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो। तर, हाल सञ्चालनमा रहेका कम्पनीहरुले २०७७ असार मसान्तसम्म २० करोड रुपैयाँ र २०७८ असार मसान्तसम्म ३० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने समय सीमा तोक्दै निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकको निर्देशनमा प्रत्येक दुई आर्थिक वर्षमा साउन मसान्तभित्र कम्पनीको नवीकरण गरिसक्नुपर्ने उल्लेख छ। त्यसका लागि दुई लाख रुपैयाँ बैंकमा जम्मा गरेको सक्कल भौचरसहित पेस गर्नुपर्नेछ। तोकेको समयमा नवीकरण हुन नसकेमा भदौ मसान्तसम्म १० प्रतिशत रकम थप र असोज मसान्तसम्म २० प्रतिशत रकम थप गरी कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेको छ।
तोकेको समयमा पनि नवीकरण नगरे कम्पनीको कारोबार नै रद्द हुनेछ। कारोबार रद्द भएपछि पुन: स्विकृति दिइनेछैन।
कम्पनीले ऋण तथा कर्जा प्रदान गरेको अवस्थामा प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने ब्याजदरमा ३ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा ब्याजदर मार्जिन कायम गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
साथै कम्पनीले १० लाख रुपैयाँभन्दा बढीको हायर पर्चेज कर्जा प्रवाह गर्नुपरेमा अनिवार्य रुपमा कर्जा सूचना लिनुपर्ने निर्देशनमा उल्लेख छ।
कम्पनीको चुक्ता पुँजी दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा २० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्छ। चुक्ता पुँजी दोब्बर भएपछि भने १० प्रतिशत रकम थप हुँदै जानेछ।
चुक्ता पुँजी शून्य दशमलव १ प्रतिशतले हुने रकम बराबरको स्विकृत दस्तुर राष्ट्र बैंकमा बुझाउनुपर्नेमा अबदेखि शून्य दशमलव २ प्रतिशत बुझाउनुपर्छ। यो व्यवस्था नयाँ आउन लागेका कम्पनीहरुको हकमा लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।