काठमाडौं– नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा कारोबार सुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ बराबरको हुन पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोबार सुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत कम्पनी पर्न सफल भएको हो। गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोबार सुरु भएको थियो। कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर सूचीकरण गरेको छ। हरेक दिन करीब १० प्रतिशतका दरले सेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो।
स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा प्रतिकित्ता ३ सय ११ रुपैयाँमा खरिद–बिक्री भएको थियो। तर, सो कम्पनीको सेयर खरिद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन्। स्टकका अनुसार साताभर सो कम्पनीको मात्रै १ सय १६ कित्ता सेयर कारोबार भएको छ।
बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ। सो कम्पनीको बजार पूँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँ छ। दोस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको बजार पूँजीकरण ६८ अर्ब २१ करोड रुपैयाँ छ। तेस्रोमा नबिल बैंक छ। उसको ६७ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ बजार पूँजीकरण रहेको नेप्सेले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।