काठमाडौं– पर्याप्त सम्भावना भए पनि उल्लेख्य उत्पादन हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७ सय ३८ केजी तयारी मासु तथा माछा आयात भएको छ।
भन्सार विभागले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अर्थिक विवरणमा करीब ८५ करोड ५६ लाख २ हजार रुपैयाँ बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख छ।
आर्थिक विवरणमा भारत, फ्रान्स, इटाली, नेदरल्यान्ड, थाइल्यान्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको जनाइएको छ।
आयातित वस्तु नेपालमै उत्पादन गर्न सकिन्छ। यद्यपि आयात भने गरिएको छ। आयात गरिएको घुङ्गी (शङ्खे किरा) सिमसार, घोल, जमेको पानी र दबेदबे हिलोमा पाइन्छ। पछिल्लोपटक सीमसार क्षेत्रमा अतिक्रमण बढेकोले घुङ्गीको उत्पादन घटेको बताइन्छ।
आगोमा सेकाएको, सग्लो तर मरेको(हिउँले ढाकिएको) र जिउँदो माछा आयात भएको हो। जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ। भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख छ। ११ दशमलब २ प्रतिशत निर्यात हुँदा ३४ दशमलब ०२ प्रतिशतले आयात बढेको छ।
चालू आर्थिक वर्षको ५ महिनामा कूल आयात ६ खर्ब ७ अर्ब रुपैयाँको छ भने निर्यात ३७ अर्ब ५० करोड रुपैयाँमा सीमित हुनपुगेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।