दक्षिण कोरिया– कोरियामा कार्यरत विदेशी श्रमिकलाई कम्पनी परिवर्तन गर्न पहिला भन्दा केही सहज हुने भएको छ।
इपिएसमार्फत कोरिया आएर काम गरिरहेका विदेशी श्रमिकका लागि यसअघि रोजगारदाताको अनुमतिबिना काम परिवर्तन गर्न नपाइने नियम नियम थियो।
अहिले उक्त नियाम परिमार्जन भई कम्पनीको दोष देखिएमा अनुमतिबिना पनि काम परिवर्तन गर्न सक्ने कोरियाको रोजगार तथा कानुन मन्त्रालयले जनाएको छ। फेब्रवरी–१ देखि उक्त कानुन लागु हुने जनाइएको छ।
यदि, कम्पनीले कानुनमा तोकिए बमोजिमका सेवा सुविधाहरू उपलब्ध नगराए, काम गर्ने समय श्रमिकको सहमति बेगर तोकिए, कम्पनीको सम्बन्धित व्यक्तिबाट दुव्र्यवहार भएको प्रमाणित भए र चौथो महिनासम्म पनि तलबको १० प्रतिशत रकम अपुग दिएमा श्रमिकले कम्पनीको अनुमति बिना काम परिवर्तन गर्न सक्ने कानुनमा उल्लेख छ।
त्यस्तै महिलाको हकमा कम्पनीमा बलात्कृत भएमा तीन दिनभित्र स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउने गरी कानुनमा परिमार्जन भएको छ। कोरियामा कार्यरत विदेशी कामदारलाई श्रमिकले पाउने आधारभुत अधिकारबाट समेत वञ्चित गरिएको भन्दै यहाँ क्रियाशील मजदुर संगठनहरू लामो समयदेखि आन्दोलित छन्।
अहिले परिमार्जन भएको यो नियमले कोरियामा कृषि क्षेत्रमा कार्यरत विदेशी श्रमिकका लागि धेरै राहत पुग्ने बताउँछन् प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राई।
एमटियुको निरन्तर दबाबका कारण कानुनहरू बिस्तारै श्रमिकमैत्री बन्दै गएको भन्दै राईले अधिकार प्राप्तिका लागि सबै श्रमिकलाई एकजुट हुन आग्रह गरे।
युनियनले इपिएस प्रणाली खारेज गरी स्वेच्छाले काम परिवर्तन गर्न पाउने नियम (डब्लुपिएस)का लागि निरन्तर आन्दोलन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।