काठमाडाै- सर्वोच्च अदालतले तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको सञ्चालक समितिको सदस्य मधुवनलाल श्रेष्ठलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। एनसिसी बैंकसँग गाभिने सम्झौता गरेपश्चात् एपेक्स बैंकका अध्यक्षलगायतले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको पाइएकाे थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष सहित १३ कर्मचारीलाई बदमासी गरेको डेढ वर्षपछि २०७४ चैत २ गते पक्राउ गरेको थियो। कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको भन्दै सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो।
एनसिसी बैकसँग गाभिएको एपेक्समा घोटला भएको अनुसन्धानमा खुलेपछि प्रहरीले नेपाल क्रेडिट एण्ड कमर्श बैंकको (एनसीसी) सञ्चालक समितिको बैठकमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएकाे थियो।
एपेक्सका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट पक्राउ परेका थिए। यस्तै बैंकका वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सो बैंकका लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितामणि उपाध्याय र शाखा प्रबन्धक मोहन खरेलसमेत पक्राउ परेका थिए।
एनसिसी बैंकसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धकलगायतले कृत्रिम ऋणी खडा गरी नागरिकको निक्षेपमाथि अनियमितता गरेकाे पाइएको सिआइबीकाे छ। उनीहरुले मिलेमतोमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको थियो। नेपाल राष्ट्र बैंकले उनीहरु विरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनको बाणिज्य इजलाशमा मुद्दा दायर गरेको थियो।
वाणिज्य इजलाशले धरौटीमा छोड्न अस्वीकार गरेपछि त्यसलाई चुनौती दिदै श्रेष्ठ २०७५ असोज २ गते सर्वाेच्च गएका थिए। उक्त निवेदनमा फैसला सुनाउँदै सर्वोच्चले थुनामा राख्ने वाणिज्य इजलाशको निर्णय मिलेको ठहर गरेको हो। न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र डम्बरबहादुर शाहीको इजलाशले शुक्रबार यस्तो फैसला सुनाएको हो।
ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। यस्तै कमसल जग्गा धेरै टुक्रा पार्ने र धेरै ऋणीको नाममा धेरै कर्जा दिएको , कर्जा तमसुकमा एकल ऋणीको मात्र सहीछाप गराइ साक्षीसमेत नराखी कर्जा दिएको, सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीलाई पुनः दोस्रो कर्जा प्रवाह गरेको अनुसन्धानमा पाइएको थियो।
एउटै व्यक्ति सञ्चालक हुने र पुराना खराब ऋणीलाई संरक्षण गरेको, सर्वसाधारण निक्षेपकर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको पाइएको प्रहरीकाे अनुसन्धानमा खुलेकाे थियो । अधिकांश धितो मूल्यांकन प्रतिवेदन यथार्थपरक नरहेकोसमेत सिआइबीको अनुसन्धानमा पाइएको थियो। एनसिसी बैंकसँग गाभिने सम्झौता गरेपश्चात् एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष धिताललगायतले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट अनियमित तरिकाले कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको अनुसन्धानमा खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।