ओमान- ओमानस्थित नेपाली दूतावासले यहाँस्थित महिला कामदारको समस्याबारे जानकारी लिएको छ।
लामो समयदेखि ओमानमा रहेर घरेलु कामदारको रूपमा कार्यरत महिला र विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपाल सरकारले श्रम स्वीकृतिमा प्रतिबन्ध लगाएपछिको समस्याबारे राजदूत शर्मिला पराजुलीलाई अवगत गराएका हुन्।
सुरक्षित रुपमा बिदामा नेपाल फर्किए पनि ओमान आउन नपाउँदा उनीहरुको आयआर्जनमा समस्या भएको उनीहरुले जानकारी गराएका थिए।
फेरि ओमान फर्किएर आउन नपाउने भएपछि बिदा सकिए पनि आफूहरु घर जान डराइरहेको उनीहरुको भनाइ थियो।
'समानताको ठूला कुरा गर्ने सरकारले हामी मेहनती इमानदार महिलालाई काम गरेर खान पनि प्रतिबन्ध लगाउनु निन्दनीय छ,' एक महिलाले भनिन्। विदेशमा नोकरी गर्ने चाहना हुँदाहुँदै सरकारले श्रम स्वीकृति रोकेर बसेको उनले बताइन्।
छोराछोरीको भविष्य सम्झेर आँसु झार्दै उनीहरुले आफ्ना पीडा, कम्पनीको कामको स्थितिबारे राजदूतलाई सुनाए।
श्रम स्विकृति रोक्दा लाखौं घुस लिएर भारत वा अन्य बाटो गरेर विदेश पठाउने दलाल मौलाउँदै गएको अर्की महिलाले बताइन्।
जवाफमा राजदूत पराजुलीले नेपाल सरकारसँग कुरा राखेर छिट्टै समस्याको निकास निकाल्ने आश्वासन दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।