काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने भएका छन्। माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै गृह र परराष्ट्र मन्त्रालय आफू मातहत राखेका प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई नयाँ जिम्मेवारी दिन लागेका हुन्।
उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेत जिम्मेवारी दिने भएका छन्। यस्तै, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी दिने तयारी छ। यसको औपचारिक निर्णय भने हुन बाँकी छ।
पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि असोज ३१ मा प्रधानमन्त्री देउवाले कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।