काठमाडौं- दुईपटक कार्यकाल थपिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ विघटन वा तदर्थ समितिबाट सञ्चालित हुने अनिश्चिततामा पुगेको छ।
भदौ २ मा सकिएको वर्तमान पदाधिकारीको कार्यकाल दुईपटक थपिएको थियो। निर्धारित समयमा १२औं महाधिवेशन हुन नसकेपछि पहिलोपटक २ मंसिरसम्मका लागि तीन महिना थपियो। उक्त समयमा पनि महाधिवेशन नभएपछि पार्टी केन्द्रीय समितिको बहुमतको आधारमा २ माघसम्मका लागि कार्यकाल लम्ब्याइएको थियो। पार्टीको केन्द्रीय कार्यसमितिमा विवादका बीच समय बढाइएपछि पार्टी नेताहरुले केन्द्रीय समितिमै फरक मत राखेका थिए।
थपिएको दुई महिनामा १२ औं महाधिवेशनको कार्यतालिका अनुरुप प्रक्रिया अघि बढ्न नसक्ने संस्थापन इतर समूहका नेताहरुको तर्क थियो। इतर समूहका नेताले वर्तमान कार्यसमितिले नै १२औं महाधिवेशन गराउनुपर्ने अडानसहित ६ महिना अवधि थप्न माग गरेका थिए। पुस अन्तिम साता हुने गरी तोकिएको १२ औं महाधिवेशनमा कार्यतालिका प्रभावित भएपछि संघ विघटन वा तदर्थ समितिले अघि बढ्ने अन्योल भएको छ।
१६ जिल्लाको मात्रै अधिवेशन
पुस १४ गते अर्घाखाँचीबाट संघको जिल्ला अधिवेशन सुरु भएको थियो। हालसम्म १६ जिल्लाको मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रदेश १ मा झापा, पाँचथर, ताप्लेजुङ र भोजपुरमा अधिवेशन भएको छ। प्रदेश २ का कुनै पनि जिल्लामा अधिवेशन हुन सकेन। महोत्तरीमा उद्धघाटन भए पनि नेतृत्व चयन हुन नसकी रोकिएको थियो। त्यसैगरी, प्रदेश ३ मा पनि कुनै जिल्लामा अधिवेशन हुन सकेको छैन।
गण्डकी प्रदेशका गोर्खा र मुस्ताङ, प्रदेश ५ मा अर्घाखाँची, प्युठान, पूर्वी रुकुममा अधिवेशन भएको छ। कर्णाली प्रदेशका जाजरकोट, दैलेख, हुम्ला र डोल्पामा सकिएको छ भने सुदूपश्चिम प्रदेशका दार्चुला र बैतडीमा मात्रै अधिवेशन भएको छ।
मुगु, धादिङ, तनहुँ, मकवानपुर, जुम्ला, खोटाङ, इलाम लगायतका जिल्लामा अधिवेशन हुने प्रक्रियामा छन्। तर हुने/नहुने अन्योल कायमै छ।
जिल्ला अधिवेशनमा आ–आफ्नो स्वार्थ अनुरुप ३२ वर्षमुनिका नेताहरु खटिएका थिए। देउवा पक्षबाट प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र पवन यादवले सक्रियता बढाए। पौडेल समूहका शिव रिमालले पनि दौडधूप गरे। पौडेल समूहका सागर परियारको सक्रियता पनि बढेको थियो।
विवादित हुने डरले कतिपय विद्यार्थी नेताहरु आफूलाई तोकिएको जिल्लामा जिम्मेवारी बहन नगरी अधिवेशन भएका जिल्ला पुगेका थिए। जिम्मेवारी बहन गर्न नसक्नेमा उपाध्यक्ष पवन यादव पनि छन्। जिम्मेवारीमा परेको चितवनमा उनले एउटै बैठक गर्न सकेनन्। कोषाध्यक्ष रिमाललाई जिल्ला अधिवेशन गराउन सहज जिल्ला मुस्ताङ परेको थियो। नवराज त्रिपाठीको जिम्मेवारीमा परेको पद्मकन्या क्याम्पसमा पनि जाडो बिदा परेकाकाले बैठक हुन नसकेको बताइएको छ।
तेस्रो धारबाट सुशील भट्ट, नवराज त्रिपाठी, डोजाङ शेर्पा, गणेश सापकोटा, निमा गिरी र निरञ्जन थापा जिल्ला दौडाहामा निस्केका थिए।
कहाँ कुन पक्षका निर्वाचित?
प्रवक्ता विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापामा सिटौला पक्षका राजेन्द्र उप्रेतीले अध्यक्षमा जितेका छन्। पाँचथरमा संस्थापन इतर समूहका तुलसी आचार्य निर्वाचित भए। ताप्लेजुङमा देउवापक्षीय विश्व नाल्बो विजयी भएका छन् भने भोजपुरमा इतर समूहका तारजन राईले जिते।
गोर्खा र अर्घाखाँचीमा सिटौला पक्षका क्रमशः सुवास अधिकारी र भरत भट्टराई चयन भएका छन्। मुस्ताङमा असिम शेरचन चुनिए। प्युठान र पुर्वी रुकुममा संस्थापन पक्ष पछि परेको छ। ती जिल्लामा इतर समूहबाट एनपी मगर र सुमन बुढामगर विजयी भए।
जाजरकोट, डोल्पा, बैतडीमा देउवापक्षीय विद्यार्थी क्रमशः ललित बस्नेत, कुशल शाही र कपिल केसी चयन भएका छन्। हुम्लामा विजयी भएका धर्म जैशीको गुट छुट्टिएको छैन भने दार्चुलामा विजयी भएका रमेश भट्ट इतर समूहका हुन्।
महामन्त्री कुन्दनराज काफ्ले निकट रहेका केन्द्रीय सदस्य सुशील भट्ट बैतडीमा खटिएका थिए। २५ वर्षदेखि उक्त जिल्लामा अधिवेशन हुन सकेको थिएन।
तुलनात्मक रुपमा कमजोर देखिएको तेस्रो धारले सुदूरपश्चिम प्रदेशमा बढी समय खर्चिएको थियो।
संघमा तीन चरित्र
संघको महाधिवेशन गराउने/नगराउनेबारे लागि विद्यार्थी नेताहरुमा तीन चरित्र देखिएको थियो।
एक, जिल्ला अधिवेशन गर्नै हुन्न भनी केही विद्यार्थी नेताहरु लागेको बताइएको छ। संस्थापन पक्षीय विद्यार्थी नेता सरोज थापा,वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेता दीपक भट्टराई अधिवेशन गराउनका लागि सक्रिय देखिएनन्। उनीहरु निकटका विद्यार्थी नेताहरु जिल्ला प्रतिनिधि भए पनि अधिवेशन गर्न खटिएनन्।
दुई, समूहमा रहेका विद्यार्थी नेताहरुले जिल्ला अधिवेशन हुनुपर्छ भनि मौखिक स्विकृति जनाए पनि उनीहरुको भित्री इच्छा जिल्ला अधिवेशन नहोस् भन्ने रहेको एक विद्यार्थी नेताले आरोप लगाए। यस वर्गमा तिनै समूहका विद्यार्थी नेताहरु थिए। संस्थापन पक्षका पुष्प शाही, पौडेल पक्षका मनोजमणि आचार्य र सिटौला समूहका बलदेव तिमिल्सिनामा उक्त प्रवृति रहेको ती नेताले बताए।
तीन, जिल्ला अधिवेशन हुनैपर्छ भनी लाग्नेहरुमा केही नेता थिए। अधिवेशनको वातावरण बनाउन संघका अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्षद्वय प्रकाश राना र नवीन राई थिए।
शीर्ष नेताकै जिल्लामा भएन अधिवेशन
पार्टी सभापति देउवा र संघका अध्यक्ष महरको गृहजिल्लामा डडेल्धुराको एक गाउँपालिका मात्रै अधिवेशन भएको छ।
वरिष्ठ नेता पौडेल र संघका कोषाध्यक्ष शिव रिमालको गृहजिल्ला तनहुँमा पनि अधिवेशन हुन सकेन।
संघको निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटमा पनि अधिवेशन भएन। महतका स्वकीय सचिव उत्तम पाठकको जिम्मेवारीमा रहेको उक्त जिल्लाको स्कुल र क्याम्पसमा अधिवेशन भने सकिइसकेको छ। पाठकको निष्क्रियताले नुवाकोटमा अधिवेशन हुन नसकेको बताइएको छ।
महामन्त्री काफ्लेको गृहजिल्लामा पनि अधिवेशन हुन सकेको छैन। ११औं महाधिवेशनका क्रममा विवादित रहेको दाेलखामा दुई जिल्ला अध्यक्ष थिए। अध्यक्षमा रहेका महेश काफ्लेलाई मनाई महामन्त्रीले अर्का जिल्ला अध्यक्ष भीम खड्कालाई स्विकार्न मनाएका थिए। तर पनि, खोटाङमा जिल्ला अधिवेशन गराउन खड्काले सकेका छैनन्।
विकल्प के?
पछिल्लो पटकका लागि निर्धारित गरिएको कार्यतालिका अनुसार महाधिवेशन गतिविधि बढेको भए शनिबार (पुस २८) देखि १२औं महाधिवेसन सुरु हुनुपर्नेछ। तर, हालसम्म १६ जिल्ला अधिवेशन भएर महाधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन।
नेविसंघका लागि अब दुई विकल्प देखिएका छन्। विघटन वा तदर्थ समिति; कुन विधिबाट संघलाई जीवन प्रदान गर्ने विषयमा पार्टी र संघबीच विवाद छ। इतर समूहले थपिएको दुई महिनामा अधिवेशन हुन नसक्ने अडान यसअघि नै राखिसकेको थियो।
तदर्थ समितिमा संघमा नयाँ नेतृत्व आएमा ३२ वर्षे उमेर हद कायम हुने/नहुने मतान्तर छ। पौडेल पक्षीय विद्यार्थी नेता मनोजमणि आचार्यले थपिएको समयमा महाधिवेशन गर्न नसक्ने वर्तमान कार्यसमितिलाई निरन्तरता दिन नहुने यसअघि बताइसकेका छन्। महामन्त्री काफ्ले भने टीके नेतृत्व स्विकार नगर्ने तर्कमा छन्।
तदर्थ समितिका लागि ३२ वर्षे उमेर हद कायम नभएमा संघका पुरानै अनुहार अघि सर्नेछन्। यदि ३२ वर्षे उमेर हदलाई मान्यता दिएर तदर्थ समिति गठन भएमा अध्यक्षमा प्रेमराज जोशी, शिव रिमाल र सुशील भट्टको चर्चा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।