राजविराज– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा सरकार नरहेको बताएका छन्।
किसान नेता जयगोविन्द साहको २९औं स्मृति दिवसको अवसर पारी बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५, बस्तीपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘विदेशबाट आएका बुहारीलाई अंगिकृत नागरिकता दिने विषयमा सरकारले निर्णय गरिसकेको छ’, उनले भने, ‘यस बाहेक अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपालीलाई नै अल्पमतमा पार्ने पक्षमा हामी छैनौं।’
पोखरेलले तराईमा अधिकांशले प्रयोग गर्ने मैथिली भाषालाई नै प्रदेश २ को सरकारी कामकाजको भाषा बनाउन सुझाब दिए।
समाजिक सुक्षाभत्ता ५ हजार रुपैयाँ बनाउने, कमला–सुनकोसी डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने कुरामा सरकार गम्भीर रहेको उनको भनाइ छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा आवश्यक परिमार्जन गर्दै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाइने बताए। अहिलेकै सरकारले मुलुकलाई समृद्ध बनाउने भन्दै उनले सरकारले गरेका राम्रा कामको प्रशंसा पनि गरे।
नेता श्रेष्ठले राष्ट्रिय अखण्डता माथि प्रहार गर्ने र विखण्डनको बिउ रोप्ने कुरा सह्य नहुने चेतावनी पनि दिए।
किसान नेता जयगोविन्द साहको २०४६ साल पुस २५ गते भारतको जयनगरमा निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।