इटहरी– प्रदेश–१का मन्त्रीहरूको दैनिकी सपिङमलदेखि खुद्रा पसल उद्घाटनमै बित्ने गरेको छ।
मन्त्रीहरू मात्र नभई मुख्यमन्त्री शेरधन राईसमेत पसल उद्घाटनमा समय बिताइरहेका छन्।
स्पष्ट योजना र भिजनको अभावमा प्रदेशका मन्त्रीहरू कामविहीन भएका हुन्। के काम गर्ने र कुन विषयमा काम गर्ने भन्ने स्पष्ट योजना नभएको कारण अलमल परिहरको स्वयम् मन्त्रीहरू नै स्विकार्छन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की कानुन र निर्देशिका बन्न नसक्दा काम गर्न समस्या परिरहेको बताउँछन्।
प्रायः समय कार्यलयमै बिताउने र बाँकी समय सभा समारोह र उद्घाटनमै बित्ने गरेको उनको भनाइ छ।
संघीय संसदले बनाउनुपर्ने केही महत्वपूर्ण कानुनको अभावमा आफूहरू कामविहीन भएको उनको गुनासो छ।
‘आफ्नो मातहतमा सुरक्षा र कानुनको बिषय परे पनि प्रदेश प्रहरी राख्न पाउने नपाउने भन्नेमा अझै अन्योल छ। त्यसैले स्पष्ट योजना ल्याएर काम गर्न सकेका छैनौँ,’ मन्त्री कार्कीले भने।
मुख्यमन्त्री राई पनि मन्त्रालयमा कामको चाप नभएपछि सामान्य कार्यक्रममा सहभागी हुन्छन्। हाल उनी जिल्ला सभाको कार्यक्रमको प्रमुख अतिथि बन्न गृह जिल्ला भोजपुर पुगेका छन्।
त्यसपछि उनी धनकुटामा हुने एक कार्यक्रमको प्रमुख अतिथि बन्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
उता सामाजिक विकासमन्त्री जीवन घिमीरेको पनि भनाइ त्यस्तै छ। विभिन्न क्षेत्रबाट शुभचिन्तकहरूको निमन्त्रणा हुने भएकोले त्यतै व्यस्त हुने गरको उनको भनाइ छ।
पर्यटनमन्त्री जगदीश कुशियत कतिपय कानुनको अभावमा काम प्रभावित भइरहेको बताउँछन्।
'हामी विधेयक, नियमावली र निर्देशिका बनाउने काममा लागेका छौँ, तर कानुनविद्हरूले गर्ने काम भएकोले हामी सामान्य काममै अल्झिनु परेको छ,' मन्त्री कुशियतले भने।
पर्यटन मन्त्रालय मातहतका विकासका काम गर्न आफूहरू लागी परिरहेको तर केही प्राविधिक समस्याको कारण नसकिरहेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।