काठमाडौं– मानव तस्करीमा सेटिङ मिलाउने गरेको पाइए अब अध्यागमन कर्मचारीलाई जिम्मेवारविहीन बनाउने अध्यागमनले जनाएको छ।
बुधबार अध्यागमनको कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक ईश्वरराज पौडेलले सेटिङमा संलग्न भएको पाइए जिम्मेवारी नदिने बताएका हुन्। अब सेटिङमा मानव तस्करी हुने दिन गएको भन्दै उनले चेतावनीको शैलीमा भने, ‘त्यस्ता कर्मचारीलाई कति जहाज अवतरण भए, कति उडे गन्न लगाइन्छ। यसरी जिम्मेवारीविहीनै बनाएपछि कसरी गर्दा रहेछन् सेटिङ?’
अध्यागमनबाट हुने अपराध र मानव तस्करी रोक्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयको समन्वयमा काम भइरहेको अध्यागमनले जनाएको छ।
आफूले अध्यागमनको कार्यकाल सम्हालेको ५ महिना बितेको र यो समयामा मानव तस्करी धेरै कम भएको दाबी उनको थियो।
अहिले अध्यागमनले विमानस्थल सुधारका लागि पनि नीतिगत, व्यवस्थापकी र भौतिक रुपमा समेत काम गरिरहेको अध्यागनमले जनाएको छ।
यसै आर्थिक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्ने र आगामी आर्थिक वर्षभित्र विमानस्थमा विदेशी यात्रुहरुको बायोमेट्रिक विवरण राखिने अध्यागमनले जनाएको छ। बायोमेट्रिक अध्यागमन सूचना प्रणालीमा फ्रिंगर प्रिन्ट, फोटो, पासपोर्ट लगायतका कुराहरु राखिनेछ। यस्तो प्रविधि जडान गरिसकेपछि कुनै विदेशी नेपाल भित्रिनेबित्तिकै उसको सबै परिचय खुल्ने हुने हुनाले विदेशीबाट हुने अपराधमा पनि कमी आउने अध्यागमनले विश्वास गरेको छ।
अहिले प्रचलनमा रहेको नेपाली भिसा र स्टिकर गुणस्तरहीन भएकाले त्यसको रुपान्तरण गर्दै मेसिन रिडेबल भिसा लागू गर्ने तयारी विभागले गरेको छ।
८४ विदेशी फर्काइए
चालु आर्थिक वर्षको अहिलेसम्म ८४ विदेशी नागरिकलाई स्वदेश फिर्ता गरिएको अध्यागमनले जनाएको छ। विभिन्न कसुरमा दोषी ठहर भएपछि उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई निश्चित अवधिसम्म नेपाल प्रवेशमा समेत रोक लगाइएको छ।
यसरी स्वदेश फिर्ता हुनेहरुमा अधिकांश भिसा अवधिभन्दा बढी बसेको पाइएको छ।
लामो समयसम्म भिसा नियमित नगराई गैरकानुनी रुपमा नेपाल बसेका नागरिकमाथि अहिले पनि सूक्ष्म निगरानी भइरहेको विभागका महानिर्देशक पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।