धनगढी– गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ क्लबलाई पराजित गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुआउटमा काँकडभिट्टा ७–६ गोलले विजयी भयो।
धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टिमले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक दीप कार्कीले सहजै बचाए। २३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे।
५० मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए। ५४ मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन। खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन्।
पेनाल्टी सुटआउटमा लावल ओलाकानको प्रहार अकासिएपछि काँकडभिट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए।
सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे। काक्करभीट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे।
काँकडभिट्टाले अब पुष २८ गते सशस्त्र प्रहरी बलको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार नेपाल पुलिस क्लबले मोरङ–११ सँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।