काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले विधागत अवार्डमा विर्चश्व कायम गरेको छ।
मंगलबार सकिएको लिगमा मनाङका तीन खेलाडीले विधागत अवार्ड हात पारेका छन्। उत्कृष्ट गोलकिपरको अवार्ड मनाङका विशाल श्रेष्ठले हात पारे। उनले लिगको १३ खेलमा ७ गोल मात्र खाए भने ६ खेल क्लिनसिट गरेका थिए।

उत्कृष्ट डिफेन्डरको अवार्ड थ्रीस्टारका रञ्जित धिमालले हात पारे। उनी लिगको सर्वाधिक गोल गर्ने खेलाडीको पनि संयुक्त रुपमा शीर्ष स्थानमा थिए। उनले लिगमा ७ गोल गर्न सफल भएका थिए। ती मध्ये ५ गोल पेनाल्टीबाट थिए।

उत्कृष्ट मिडफिल्डरको अवार्ड मनाङकै हेमन गुरुङले हात पारे। उनले मनाङलाई लिग जिताउने क्रममा प्रभावशाली खेल पस्केका थिए।

आर्मीका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड घोषित भए। भरतले लिगमा ७ गोल गरेका थिए।

मनाङलाई लिग च्याम्पियन बनाएका सुमन श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे।

उत्कृष्ट भएका पाँचै जनाले १–१ थान पल्सर मोटरबाइक र जनाही ५०–५० हजार रुपैयाँ हात पारे।
यस्तै आर्मीका डिफेन्डर विकास खवासलाई मणि विक्रम शाह युवा खेलाडी अवार्ड' प्रदान गरियो। उनलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि विक्रम शाहको नाममा पुरस्कार स्थापना गरेको हो।

फेयर प्ले अवार्ड ब्रिगेड ब्वाइज क्लबलाई प्रदान गरियो। उसले नगद १ लाख रुपैयाँ हात पार्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।