काठमाडौं– संसदमा आफ्नो भूमिका अझै सशक्त बनाउन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ।
मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकारको प्रक्रिया सुरु गर्न सांसदहरुलाई तीन मन्त्रालयको नाम पठाउन भनेको छ।
‘छायाँ सरकारको बारेमा पटकपटक कुरा उठिराखेको भए पनि आज सांसदलाई आफूलाई रुचि लागेका तीन वटा मन्त्रालयको नाम सचिवालयमा दर्ता गराउन भनिएको छ,’ नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले भनिन्, ‘छायाँ सरकार बनाउँदा सम्बन्धित मन्त्रालयकाबारेमा प्रमुख प्रतिपक्ष दलले अभिलेख राख्ने हुँदा सहि तथ्यांकका आधारमा संसदमा सशक्त धारणा राख्न सकिन्छ।’
कांग्रेसले संसदीय दलको पहिले बैठकमा छायाँ सरकार बनाउने निर्णय गरिसकेको थियो। सांसदका रुचिअनुसार छायाँ मन्त्रालयको सम्पूर्ण जिम्मेवारी मन्त्रालयमा रहने सांसदलाई दिइने सचेतक भुसालले जानकारी दिइन्।
छायाँ मन्त्रालयमा रहने मन्त्रीले सम्बन्धित मन्त्रालयको सूचना लिने, संसद बैठकमा त्यसैमा केन्द्रित रहेर प्रश्न उठाउने, सम्बन्धित मन्त्री, मन्त्रालयसँग जानकारी माग्ने, प्रश्न उत्तर गर्ने, मन्त्रालयले कसरी काम गरिरहेको छ भनेर निगरानी राख्ने र कांग्रेसले त्यही अनुरुप दृष्टिकोण तय गर्ने सचेतक भुसालले बताइन्।
छायाँ मन्त्रालयमा रहने मन्त्रीले मन्त्रालय कसरी चल्नुपर्छ, चलिराखेको छ भन्ने सन्दर्भमा पनि मन्त्रीहरुसँग सवाल जवाफ गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।