रसुवा– मंसिर १० गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि रसुवामा ११ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार, आइतबार भएको मनोनयन दर्तामा प्रतिनिधिसभा सदस्यमा ७ जना र प्रदेश सभामा ४ जनाले उम्मेदवारी दिएका हुन्।
प्रतिनिधिसभाका लागि स्वतन्त्रबाट सर्मिला थापा क्षेत्री, सिदर याङजेन लामा, कविराज डंगोल, सुजन डंगोल, शिवबहादुर लामिछाने, विजयकुमार पौडेल र वीरेन्द्रकुमार उप्रेतीको उम्मेदवारी परेको छ।
त्यस्तै, प्रदेश सभा क तर्फ लीलाबहादुर न्यौपाने, विष्णु लामा, सगुन घले र प्रदेश सभा ख बाट निर्मल विक्रम गोलेले उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिनिधिसभामा उम्मेदवारी दिँदा उम्मेदवारले पाउने विभिन्न सुविधा लिन उनीहरुले गठबन्धनको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको स्रोतको भनाइ छ । गठबन्धनका उम्मेदवारले स्वतन्त्र उम्मेदारी दिएकाहरुको सुविधा पनि लिन सक्ने भएकाले जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका दलबाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउन लगाएको बताइएको छ।
निर्वाचनका दिन उम्मेदवारले यातायात सुविधाका साथै मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि राख्ने लगायत सुविधा पाउने भएपछि स्वतन्त्र उम्मेदवार उठाइएको एक नेताले बताए । आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराउने ११ जना नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका सक्रिय कार्यकर्ता रहेको बुझिएको छ।
निर्वाचनको समयमा राजनीतिक दलले सीमित गाडी मात्र प्रयोग गर्न मिल्ने भएकाले सवारी पास लिन दलहरु आफैंले खर्च दिएर उनीहरुलाई उठाएको स्रोत बताउँछ।
जिल्लामा क्रियाशील राजनीतिक दलमा सक्रिय रहेका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिँदा समेत पार्टीले केही नबोल्नुले पनि दलहरुले उठाएको भन्ने प्रस्ट बुझिने नेताहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।