काठमाडौं– तीन वटा नागरिकता बनाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको धनगढी नगरपालिका–३ फुलबारीका वासुदेव मैनाली छन्। उनले काठमाडौं, कैलालीलगायतका जिल्लाबाट रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाएर लाखौं रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मैनालीलाई प्रहरीले काठमाडौं नारायणटारको अर्याल गाउँबाट पक्राउ गरेको हो। उनले रक्सी, फ्रिज, हार्डवयरलगायतका होलसेल पसलमा सामान किन्दै पैसै नभएको बैंकको चेक काट्दै ४० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ।
केही दिनअघि मात्रै टोखाका एक रक्सी डिलरबाट १८ लाख रुपैयाँ बराबरको रक्सी किनेर गाडीमा लोड गरे। त्यसपछि नगद रकमको साटो चेक दिए। चेक साट्न बैंक गएका व्यापारीले पैसा नभएपछि प्रहरीसमक्ष उजुरी गरेका थिए। त्यहीबाट उनको ठगी भन्दाको पर्दाफास भएको परिसर प्रमुख बसन्त लामाले बताए।
उनले चेक काट्दा विश्वास दिलाउन शिवराम पौडेल नामको नागरिकता समेत देखाउने गरेको थिए। सोही नामको बैंक खाताको चेक काट्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ। चोरीका गरेका सामानहरू उनले भक्तपुर लगेर बेच्ने गरेको प्रहरीले जनाएको छ।
यसरी ठगी गरेका सामान राख्न उनले नारायणटारमा गोदाम लिएको र त्यहीँ लगेर राख्ने गरेको प्रहरीले जनाएको छ। उनको गोदामबाट प्रहरीले फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सी गरी १५ लाख रुपैयाँभन्दा बढीको सामान समेत बरामद गरेको छ। अहिलेसम्म ७ जना व्यापारीले आफू ठगिएको भन्दै उनी विरुद्ध उजुरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।