काठमाडौं- नेपाल आयल निगमका पूर्व प्रबन्ध निर्देशक गोपालबहादुर खड्का अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अकुत सम्पत्ति आर्जन गरेका थापाविरूद्ध सोमबार अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ। बिगो र जरिवानासहित ३७ करोड ३२ लाख रुपैयाँ दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यसअघि भ्रष्टाचारका विभिन्न काण्डमा मुछिँदै आएका खड्का पछिल्लो समय निगमले इन्धन भण्डारणका लागि गरेको जग्गा खरिदमा मुछिएका थिए।
३३ वर्षको भन्दा साढे ४ वर्षकै कमाइ बढी
पछिल्लो समय खड्काले अस्वभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। करिब ३३ वर्ष सरकारी सेवामा रहँदा पनि कमाउन नसकेको सम्पत्ति उनले आयल निगममा प्रवेश गरेपछि साढे ४ वर्षमा नै कमाएको देखिन्छ।
सडक विभागमा रहँदा र खासगरी आयल निगमको प्रमुख भएयता खड्काले अस्वभाविक सम्पत्ति आर्जन गरे। अकुत रुपमा सम्पत्ति आर्जन गरेको विषयमा विवाद बढेपछि उनलाई गत २ असोज ०७४ मा मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो। तर, खड्काले गत २४ जेठमा मात्र सरकारलाई राजीनामा बुझाएका थिए।
सरकारी सेवामा प्रवेश गरेयता ०६९ सालसम्म उनले कुल ८ करोड ६४ लाख रुपैयाँ आय गरेको देखिएको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। उनी ०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सुरुमा ओभरसियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए।
अख्तियारले २ चैत ०६९ सम्म र त्यसयताको अवधिमा गरी दुई कालखण्डका आधारमा अनुसन्धान गरेको थियो।
यो पनि पढ्नुहोस् : आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर
०६९ सालयता भने खड्काको सम्पत्ति अस्वभाविक रूपमा बढेको देखिन्छ। त्यसयता मात्रै उनले ७ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको देखिएको छ। उनले पारिश्रमिकबाट ४० लाख ५७ हजार रुपैयाँ र जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको देखिन्छ।
यसैगरी, ऋण सापटीबाट ५ करोड ३३ लाख रुपैयाँ र घर भाडाबाट १३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको देखिएको छ। त्यस्तै, सरकारी सेवाबाट अवकास हुँदा प्राप्त गरेको आर्थिक सुविधा २९ लाख २२ हजार रुपैयाँ, पेन्सनबाट १४ लाख ७८ हजार रुपैयाँ, विप्रेषण आयबाट ८ लाख २६ हजार रुपैयाँ, गाडी बिक्रीबाट ३५ लाख रुपैयाँ, छोराबुहारीको पारिश्रमिकबाट ११ लाख रुपैयाँ आर्जन गरेको अख्तियारको दाबी छ।
त्यसअघि ३३ वर्षमा उनको आय ८ करोड ६४ लाख रुपैयाँमात्र देखिएको दाबी अख्तियारको आरोपपत्रमा उल्लेख छ।
साढे ४ वर्षमै उपत्यकामा ५ वटा घर!
खड्काले ०६९ सालयतामात्रै ३ वटा घर बनाइसकेको देखिएको छ भने थप २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको अख्तियारको अनुसन्धानले देखाएको छ। यसबाहेक सोही अवधिमा उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको दाबी अख्तियारको छ।
उनले घरजग्गा खरिदमा मात्रै ११ करोड ६१ लाख खर्च गरेको देखिएको अख्तियारले जनाएको छ। त्यस्तै, विभिन्न कम्पनीको सेयर १ करोड ६ लाख रुपैयाँ, ऋणको साँवाब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ, व्यक्तिगत रूपमा दिएको सापटी भुक्तानीमा १ करोड २५ लाख रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोगमा १ करोड १७ लाख रुपैयाँ खर्च गरेको देखिएको अख्तियारको आरोपत्रमा उल्लेख छ।
त्यस्तै, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार रुपैयाँ, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा खर्च गरिएको समेतका रकम १ करोड ८० लाख र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा २ करोड ७१ लाख रुपैयाँ मौज्दात देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
३८ वर्षमा कमाए सवा २७ करोड, साढे १८ करोड अवैध
सार्वजनिक सेवामा प्रवेश गरेयता खड्काले २७ करोड ३० लाख रुपैयाँ आय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। त्यसमा करिब ८ करोड ६४ लाख रुपैयाँ आयको मात्र स्रोत खुलेको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो।
अरुकी श्रीमतीका नाममा समेत लुकाए पैसा
खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्ति श्रीमती तथा अन्य व्यक्तिका नाममा लुकाउँदै आएको दाबी अख्तियारको छ। उनले कुष्णबहादुर लामाकी छोरी, दीपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र आफ्नै श्रीमती शर्मिला खड्काको नाममा उक्त सम्पत्ति लुकाउँदै आएका थिए। उनीहरूको पनि सम्पत्ति जफत हुने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।
खड्काले अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख रुपैयाँ सम्पत्ति लुकाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
लामाको नाममा रहेको एनएमबी र सिटिजन्स बैंकका खाताहरूबाट खड्काले नै कारोबार गर्ने गरेको दाबी अख्तियारको छ।
सधैं विवादित
खड्का सरकारी सेवामा रहँदा सँधै विवादित बनिरहे। पछिल्लो समय निगमले सातै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउने भन्दै अघि बढाएको आयोजनामा जग्गा खरिद गर्दा एक अर्बभन्दा बढी घोटाला भएको आरोप लागेको छ। करिब ५ अर्ब रुपैयाँको जग्गा खरिद प्रकरणमा खड्काको भूमिका मुख्य रहेको आरोप लाग्दै आएको छ।
खड्का २०५१ सालमा स्थानीय विकास मन्त्रालयमा इन्जिनियर, ०५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष प्रहरी हुँदै ०६१ मा सडक विभागमा सिनियर डिभिजनल इन्जिनियर बनेका थिए। उनी ०६७ सालमा डिभिजन सडक काठमाडौंको प्रमुख बने। सडक विभागमा आएदेखि नै उनी विवादित हुन थालेका हुन्।
करिब ३५ वर्ष सार्वजनिक सेवामा रहेका खड्का १४ माघ ०७१ मा निगम प्रमुखको नियुक्ती पाएका थिए। निगम प्रमुखको जिम्मेवारी सम्हालेसँगै खड्का अनियमितताका विभिन्न काण्डमा मुछिए।
भारतले लगाएको नाकाबन्दीका समयमा कालोबजारी गरेर तेल बिक्री गरेको, नयाँ पेट्रोल पम्प खोल्न गैरकानूनी अनुमति दिएको, नयाँ ग्यास बुलेट सञ्चालनका लागि अनुमति दिँदा घोटाला गरेको, पेट्रोलियम ट्यांकर खरिद अनुमति दिँदा अनियमितता गरेकोलगायतका थुप्रै आरोप उनीमाथि लाग्दै आएको छ।
नाकाबन्दीका समयमा तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन तस्करीमा संलग्न रहेको बताउँदै उनलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिले खड्कालाई १९ मंसिर ०७२ मा कारबाही सिफारिस गरेको थियो।
सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।