धनगढी– सुदूरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने अभिव्यक्ति दिए। łयो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो। हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रुपमा लिनुपर्छ। सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने। हमालले प्रतियोगिताले पछिल्लो समय ठूलो स्वरुप लिंदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सफल रहेको पनि बताए।
पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलस्थल धनगढी रंगशालाको स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम–११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन्। उद्घाटन खेल २ः३० बजे सुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ ।
विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ। उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५–१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको छ ।
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।