सल्यान– सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ।
जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो।
कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले आइतबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ।
जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धीरेन्द्रबहादुर बुढाथोकीले बताए।
कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन्।
यसैबीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी बैंक शाखा सल्यानको सहकार्यमा ६७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।