नयाँ दिल्ली (एजेन्सी)- पछिल्लो समय सोनी टिभीमा कमेडी शो चलाउँदै आएका कपिल शर्मा अहिले सानो पर्दाबाट गायब छन् । यतिबेला उनी आफ्नो लगानीको फिल्म ‘फिरंगी’ मा व्यस्त छन् । यसैबीच उनको फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा कपिल शर्मा बडो सानसँग गाडीमा बसेका छन् भने गोरा विदेशी उनका ड्राइभर छन् । फिल्मको फस्ट लुकमा भने उनी विदेशीलाई लात हानिरहेको देखिएका थिए । कपिलले ट्विटरमा दोस्रो पोस्टर रिलिज गर्दै फिल्मको ट्रेलर मंगलबार रिलिज हुने घोषणा समेत गरेका छन्।
कपिलले २०१५ मा 'किस किसको प्यार करुं' फिल्ममार्फत बलिउडमा डेब्यु गरेका थिए । अब्बास-मस्तानको निर्देशनमा बनेको कमेडी जनराको सो फिल्मलाई दर्शकले रुचाएका थिए । दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका उनले इशिता दत्ता र मोनिका गिलको साथ जोडी जमाउँदै छन्।
आफ्नै कम्पनी के नाइन प्रोडक्सनबाट उनले फिरंगी निर्माण गरेका हुन् । उनले टेलिभिजन शो 'कमेडी नाइट्स विद कपिल' र 'द कपिल शर्मा शो' पनि आफ्नै ब्यानरबाट निर्माण गरेका थिए । ‘फिरंगी’ नोभेम्बर २४ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।