काठमाडौं– आगामी डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा चार खेलाडी सबैभन्दा बढी मूल्यमा बिक्री भएका छन्।
बढी मूल्यमा बिक्री भएका खेलाडीमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी छन्।
पहिलो श्रेणीका चारै खेलाडी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका हुन् । यस श्रेणीका खेलाडीका लागि अधिकतम मूल्य १ लाख ७५ हजार नै राखिएको थियो।
आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राख्यो । सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका छन् भने विनोद पोखरा राइनोजमा आबद्ध भएका छन्।
इपिएलमा सहभागी हुन हुन १ सय ६० खेलाडीले नाम दर्ता गराएका थिए । यीमध्ये ९० खेलाडीलाई सोमबार भएको अक्सन (बोलकबोल) मा सहभागी गराइएको थियो । अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका छन् । योसँगै अब एक टिममा ११ खेलाडी आबद्ध भएका छन् । यसअघि १-१ खेलाडी मार्की खेलाडीका रुपमा आबद्ध भएका थिए । अब एक टिममा ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानिनेछ।
सोमबार भएको अक्सनमा ३ श्रेणीका खेलाडी सहभागी थिए, जसमा ३ वर्ष राष्ट्रिय टिमबाट खेलेका खेलाडी पहिलो श्रेणीमा थिए । सन्दीप र आरिफलाई उत्कृष्ट खेलेको भन्दै पहिलो श्रेणीमा राखिएको थियो । दोस्रो श्रेणीमा उमेरसमूहको राष्ट्रिय टिमबाट नेपालको जर्सी लगाएका तथा ३ वर्षभन्दा कम समय राष्ट्रिय टिमबाट खेलेका खेलाडीलाई राखिएको थियो । तेस्रो श्रेणीमा विगत ५ वर्षमा राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए।

पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ७५ हजार रूपैयाँ रहेको थियो । दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार र तेस्रो श्रेणीका खेलाडीको ५० हजार रुपैयाँ राखिएको थियो।
यसअघि इपिएलमा भाग लिने ६ सहरका टोलीको नाम सार्वजनिक गरिएको थियो । इपिएल खेल्ने टोलीमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए । ‘मार्की’ खेलाडीको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ रहेको इपिएलले जनाएको छ।
इपिएलले टिम मालिकको पनि नाम सार्वजनिक गरेको थियो । जसमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) छन्।
हेर्नुहोस् ६ टिमका खेलाडी र मूल्य:






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।