काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको दोस्रो चरणका लागि उम्मेदवारको टुंगो लगाएको छ।
मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट पार्टीले पाएको सात स्थानमध्ये पाँच स्थानमा उठ्ने उम्मेदवार तय भएको प्रवक्ता भुवन पाठकले बताए । मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा नै प्रत्यक्ष निर्वाचनमा भिड्ने भएका छन्।
यस्तै, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख–१ मा कुन्तीकुमारी शाही र काठमाडौं–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने तय भएको पाठकले बताए।
लिङ्देन नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्ण सिटौलाको क्षेत्रबाट उठ्ने भएका छन् । स्थानीय तह निर्वाचनमा केही क्षेत्र विजय भएपछि राप्रपाले उक्त क्षेत्र दाबी गरेको थियो । कांग्रेसले विगतदेखि जित्दै आएको उक्त क्षेत्र लोकतान्त्रिक गठबन्धनका लागि राप्रपालाई दिइएको हो।
गठबन्धनमा राप्रपाले प्रतिनिधि सभाका लागि पाएको सात सिटमध्ये दुई सिटमा उम्मेदवार तोक्न बाँकी रहेको पाठकले बताए।
प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट राप्रपाले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवार तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।