सिड्नी– भारतका युवा विकेटकिपर रिशव पन्तले महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका छन्।
धोनीले १२ वर्षअघि बनाएको रेकर्ड तोड्ने क्रममा पन्तले शुक्रबार अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा शतक प्रहार गरेका थिए। उनले नटआउट १ सय ५९ रन जोडेका थिए। योसँगै पन्त घरेलु मैदान बाहिर एकै इनिङमा बढी रन बनाउने भारतीय विकेटकिपर बनेका छन्।
यसअघि भारतका पूर्वकप्तान धोनी सन् २००६ मा पाकिस्तानविरुद्ध १ सय ४८ रन जोड्दै घरबाहिर एकै इनिङमा बढी रन जोड्ने भारतीय विकेटकिपर बनेका थिए।
पन्तले शतक बनाएर खेलिरहेको अवस्थामा भारतले सिड्नीमा जारी चौथो टेस्टमा ७ विकेटको क्षतिमा ६ सय २२ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो। पन्तले १ सय ८९ बलमा १५ चौका र १ छक्का प्रहार गरेका थिए। पन्तसँगै चेतेश्वर पुजाराले १ सय ९३ रन जोडेका थिए भने रविन्द्र जडेजाले ८१ रनको योगदान दिएका थिए। बलिङमा अस्ट्रेलियाका नाथान लियोनले ४ विकेट लिए।
दोस्रो दिन आफ्नो पहिलो इनिङ सुरु गरेको अस्ट्रेलियाले बिनाविकेटको क्षतिमा २४ रन जोड्दा दिनको खेल सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।